बेलायतको संसद भवन अगाडि भव्य मनाइयो बुद्ध जयन्ती

image
लन्डन- बेलायतको संसद भवन अगाडि ‘पार्लियामेन्ट स्क्वायर’मा शुक्रबार साँझ भव्यरुपमा बुद्ध जयन्ती मनाइएको छ ।

शुक्रबार साँझ ५:३० देखि ८:०० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा आयोजना गरिएको बुद्ध जयन्तीको विशेष कार्यक्रममा नेपाली राजदूतावास बेलायत, बेलायती सांसदहरु, विभिन्न संघसंस्था र त्यसका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

अतिथीहरु सांसद सिमा मल्होत्रा, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता र नेपाली दूतावासका एट्याची तेजेन्द्र रेग्मीले बुद्ध जयन्तीको शुभकामना दिंदै बुद्धको शान्ति, समृद्धि र मानव कल्याणको सन्देश अहिले पनि अनुशरण योग्य भएको बताए ।13249504_10206395066824349_796834696_n[2]

आयोजक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठले लन्डनको मुटु पार्लियामेन्ट स्क्वायरमा विश्वभरका मानिस आउने भएकाले यहांबाट शान्तिका अग्रदूत गौतम बुद्धको सन्देश विश्वभर फैलाउन र बुद्धको जन्मबारे रहेको भ्रम हटाउन कार्यक्रम गरिएको जनाए ।

गणेश खड्काले संयोजन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, डा. कविताराम श्रेष्ठ लगायतले शुभकामना र एभरेष्ट गौतमले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा ह्यारी गुरुङ र जिवन सेनले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए भने आयोजकले अतिथीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रमको व्यवस्थापन गणेश दाहालले गरेका हुन् ।

लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो ।

छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गर्नुभएको थियो ।

image