काठमाडौं- सत्तारुढ एमाले र एमाओवादीबीच बिहीबार राति बालुवाटारमा ९ बुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।
आफ्नै पार्टीको नेतृत्वमा राष्टिय सरकार बनाउन पहल थाल्ने एक दिन अगाडिको निर्णयबाट पछि हटेको एमाओवादीले वर्तमान एमाले नेतृत्वको सरकारलाई नै निरन्तरता दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विभिन्न विषयमा लिखित प्रतिबद्धता लिएको छ ।
दुई दलका शीर्ष नेताहरुबीच बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा अवेरसम्म चलेको छलफलपछि ९ बुँदे लिखित सहमति गरिएको छ । नयाँ संविधान जारी पछि असोजको तेस्रो साता एमाओवादीकै प्रमुख बलमा निर्माण भएको ओली सरकारको संकट तत्काललाई टरेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसको आश्वासनपछि विभिन्न विषयमा सत्ता साझेदार एमालेसँग असन्तुष्ट रहेको एमाओवादी बुधबार आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठनको पहल थाल्ने निर्णय लिएपछि ओली सरकार संकटमा परेको थियो । तर, बजेट तथा नियुक्तिहरुमा एमाओवादीलाई प्राथमिकता दिने, केही दिनपछि एमाओवादी नेतृत्वको सरकार गठनमा सघाउने लगायतका एमाले नेतृत्वको प्रतिवद्धतापछि २४ घण्टा नबित्दै एमाओवादी अघिल्लो दिनको आफ्नो निर्णयबाट पछि हट्दै अहिलेको गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेको हो ।
सरकारलाई निरन्तरता दिन दुई दलका शीर्ष नेतृत्व प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार राति गरेको ९ बुँदे सहमतिको पहिलो बुँदामै राष्ट्रिय सरकार निर्माणको पहल थाल्ने भनिएको छ । त्यस्तै, संघीयताका सवालमा मधेसी मोर्चाले उठाएको मागलाई वार्ताका माध्यमबाट राजनीतिक निकास दिने, द्वन्द्वकालीन मुद्दाहरु फिर्ता, माफी र मिनहाको प्रक्रिया अघि बढाउने, राजनीतिक तथा प्रशासनिक नियुक्ति सहित सरकारका महत्वपूर्ण निर्णयमा दलहरुबीच छलफल गरेर मात्र गर्ने लगायतका विषय सहमतिमा उल्लेख छन् ।







