भारतीय नागरिक मृत फेला

death bodyडोटी- डोटीको कुलपाते भन्ने स्थानमा आज बिहान एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृतक भारतको हिमाञ्चल प्रदेशको काँकडा भन्ने जिल्लाको रहेको इलाका प्रहरी कार्यालय दीपायलका प्रहरी नायब निरीक्षक भीमबहादुर मल्लले जानकारी दिनुभयो । जगदीश नाम गरेका ती व्यक्ति डोटीमा खोटो सङ्कलन गरिरहेको भद्रकाली रोजीन कम्पनीमा कार्यरत रहेका थिए ।

प्रहरीले दिएको जानकारीअनुसार मृतक जगदीश दीपायलमा रहेको ट्राफिक प्रहरी कार्यालयको घरसँगै जोडिएको घरमा बसेका थिए । राति पिसाब गर्न भनी बाहिर आएकै अवस्थामा जङ्गली जनावरले आक्रमण गरी मारेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

मृतकको प्रकृति हेर्दा बाघले आक्रमण गरेजस्तै रहेको प्रहरी नायब निरीक्षक मल्लको भनाइ रहेको छ । सँगै घरमा बसेका ट्राफिक प्रहरी हवल्दार इन्द्रराज बोहराले आज बिहानै जगदीशलाई मृत अवस्थामा भेटे पछि इलाका प्रहरी कार्यालय दीपायललाई खबर गरेका थिए ।