काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्र्पति विद्यादेवी भण्डारीले महान्यायाधीवक्ता पदमा अधिवक्ता हरि फुयाँललाई नियुक्त गर्नुभएको छ ।
सरकारको कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधीवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । उहाँको शपथग्रहण भने भोलि हुने अधिवक्ता फुँयालले रबताउनुभयो ।
फौजदारी न्याय प्रणाली र मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गर्नुभएका फुयाँल २५ वर्षदेखि कानुन व्यवसायीका रुपमा क्रियाशील हुनुहुन्छ । उहाँसँग संयुक्त राष्ट्रसङ्घमा काम गरेको अनुभवसमेत छ ।
मोरङको राजघाट गाविसमा विसं २०२७ मा जन्मिनुभएका फुयाँलले मोरङकै जनसेवा माविबाट एसएलसी उत्तीर्ण गर्नुभएको थियो । धरानको महेन्द्र क्याम्पसबाट आइएल, नेपाल ल क्याम्पस, काठमाडौँबाट विएल तथा भारतको नेशनल ल स्कुल, बैङ्लोरबाट एलएलएम गर्नुभएको थियो । त्यस्तै, अर्को एलएलएम भने उहाँले बेलायतबाट गर्नुभएको थियो ।






