जनकपुरधाम- टुडे सञ्चार समूहका अध्यक्ष अरूण सिंघानिया हत्याका मुख्य योजनाकार निलम्बित सांसद सञ्जयकुमार साह रहेको तथ्य सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रामदत्त जोशीले जनकपुर टुडेमा डाँकासम्बन्धी प्रकाशित समाचार विवादका कारण साहले सिंघानियाको हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट तथ्य उजागर भएको बताउनुभयो ।
विसं २०६५ साल भदौ १४ गते तत्कालीन रामानन्द युवा क्लबका अध्यक्ष जीवनाथ चौधरीको घरमा डाँका लागेको घटनामा साहको नाम पत्रिकाले उल्लेख गरेका कारण साहले पत्रिकाका प्रकाशक सिंधानियाको हत्या गर्न रु १० लाख खर्च गरेको उहाँले जानकारी दिनुभयो ।
सिंघानियालाई मार्न साहले कदम चोकस्थित आफ्नो घरको छतमा चनरदीप र रामविनोद यादवसँग तीन पटकसम्म छलफल गरेको, चनरदीपले एकलाल सहनीमार्फत पवन लामा, मनक लामा र दीपेन्द्र कुसियतलाई साथमा लिई चार जनालाई रु पाँच लाखमा सिंघानियालाई मार्न तय गरेको प्रहरी कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।






