कांग्रेसमा गुट बदल्ने को-को ?

NCaaकाठमाडौं- नेपाली कांग्रेसको १३औं महाधिवेशनको बन्द सत्र सुरु भएसँगै आन्तरिक समीकरण फेरिन थालेको छ । नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सकिएसँगै गुट अदलबदल तीव्र बनेको हो ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षीहरूले आफ्नो कुरा नसुनेको भन्दै गुट फेर्न थालेका छन् । केही केन्द्रीय नेताहरूले गुट परिवर्तन गरिसकेका छन् ।

महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबिच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

कोइराला परिवारलाई एकजुट बनाउँदै संस्थापन पक्षको आधिकारिक उम्मेदवार बनेका कार्यवाहक सभापति पौडेल र वरिष्ठ नेता देउवाबिच कडा प्रतिस्पर्धाको अवस्था रहेको महाधिवेशन प्रतिनिधिको भनाइ छ । बन्द सत्र चलिरहेका बेला प्रतिनिधिहरू यही अनुमान लगाई गुट अदलबदलमा लागेका हुन् ।

शुक्रबार मात्रै दुई केन्द्रीय सदस्य सूर्यमान गुरुङ र फरमुल्लाह मन्सुर गुट परिवर्तन गरी देउवा समूहमा पुगेका छन् ।

ताप्लेजुङ-२ नम्बर क्षेत्रका क्षेत्रीय सभापति रामबहादुर कोमलिम्बा पनि देउवा पक्षमा जाने भएका छन् ।

पर्वतका अर्जुन जोशी, सुनसरीका राजीव कोइराला देउवा गुटका नेताको सम्पर्कमा आएका हुन् । उनीहरूले बार्गेनिङ गरिरहेका छन् । गण्डकी अञ्चलकै कास्कीका तारानाथ रानाभाट, तनहुँका गोविन्दराज जोशी, गोविन्द भट्टराई यसअघि नै संस्थापन त्यागेर देउवा क्याम्पमा गइसकेका छन् ।