काठमाडौं- नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन बिहीबारबाट औपचारिकरुपमा सुरु भएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलले दिउँसो दुई बज्न दुई मीनेट बाँकी रहँदा पानसमा बत्ती बालेर महाधिवशेनको उदघाटन गरे ।
खुल्लामञ्चमा आयोजना गरिएको महाधिवेशनमा उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उपप्रधामन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायत सहभागी भए ।
उदघाटन समारोहमा भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमार, भारतका विभिन्न दलका नेताहरु पनि अतिथिका रुपमा सहभागी छन् । त्यसैगरी बंगलादेश, क्याम्बोडिया, पाकिस्तान लगायतका मुलुकबाट पनि महाधिवेशनमा शुभकामना दिन पाहुनाहरु आएका छन् ।
उदघाटन समारोहमा स्वागत मन्तव्य काठमाडौं जिल्ला कांग्रेसका सभापति सबुज बानियाँले व्यक्त गरे ।






