महामन्त्री त्याग्न शशांक तयार

sashanka koiralaकाठमाडौं- कांग्रेस नेता डा. शशांक कोइरालाले आफ्नो प्रयास पार्टीलाई एकताबद्ध बनाउनु रहेको भन्दै सो कामका लागि महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । कांग्रेसलाई एक गराउन महामन्त्रीको उम्मेदवारी छाड्न तयार रहेको उनको भनाइ छ ।

‘मेरो पहिलो प्रयास कांग्रेसलाई एक गराउनु हो । दोस्रो प्रयास संस्थापन पक्षधर नेतालाई एक गराउनु हो । दुईओटै प्रयासमा म लागेको छु । त्यसका लागि म चर्चामा ल्याइएको महामन्त्री पद पनि त्याग गर्न तयार छु,’ कोइरालाले भने । मंगलबार साँझसम्म संस्थापनबाट एकजना मात्रै साझा उम्मेदवार बन्ने सम्भावना रहेको पनि उनले प्रस्ट पारे । मंगलबार साँझसम्म संस्थापन पक्षबाट एक मात्रै साझा उम्मेदवार बनाउने प्रयास भइरहेको छ, त्यसको धेरै सम्भावना छ,’ कोइरालाले भने ।

कांग्रेसलाई एक बनाउन आफूले वरिष्ठ नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका शीर्ष नेतासँग छलफल गरिरहेको भन्दै उनले यसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताए । ‘कांग्रेस एक हुन्छ भने म अभिमन्यु बन्न पनि तयार रहेको छु, यो कुरा मैले पटकपटक भनिसकेको छु,’ कोइरालाले भने ।