काठमाडौं- भारतको ६ दिने राजकीय भ्रमणबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक भैरहवामा सार्वजनिक मञ्चमा सम्बोधन गर्ने भएका छन् ।
नयाँ संविधानका अस्पष्टता जनतालाई बुझाउने उद्देश्यले नेकपा (एमाले) लुम्बिनी अञ्चल कमिटीको आयोजनामा भैरहवामा ‘जनताको संविधान जनताको माझमा’ कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।
उक्त जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लीला गिरीले जनाकारी दिएका छन् । कार्यक्रम भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ । सभालाई दिउँसो १२ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य गिरीले जानकारी दिएका न् ।
कार्यक्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीसहित पार्टीका महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र छविलाल विश्वकर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभालाई लक्षित गरि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबारको लागि बिहीबार नै रुपन्देही बन्दको आव्हान गरेको छ । बन्दको पूर्व सन्ध्यामा रुपन्देहीको धकधईमा मोर्चाले मशाल जुलुश समेत निकालेको थियो ।






