तारा एयर दुर्घटनाः बिहानैदेखि शव संकलन सुरु

tara airकाठमाडौं- म्याग्दीको दाना गाविस-२ को सोलीघोप्टेको धुरीमा दुर्घटनाग्रस्त जहाजमा सवार भएकामध्ये शव फेला नपरेकाको खोजी र शव सङ्कलनको काम पुनः सुरु भएको छ ।

मौसममा आएको खराबी र रात परेका कारण बुधबार रोकिएको सङ्कलन कार्य सुरु भएको हो । शवलाई समेत तल झार्न र नभेटिएकाको खोजी गर्न कठिनाइ भएपछि खोजी कार्य स्थगन गरिएको थियो ।

दुर्घटनास्थल निकै अग्लो डाँडाको खोँचमा रहेको छ । बाक्लो कुहिरो लागेसँगै चिसो बढेपछि खोजी र शव सङ्कलनको काम जटिल बन्दै भएको इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिनुभयो । दुर्घटनामा परेको जहाज पूर्णरुपमा जलेको छ भने केही हिस्सा पहाडमा ठोक्किएर छरिएका छन् ।

दुर्घटनास्थल म्याग्दी सदरमुकाम बेनीदेखि ४० किमी उत्तर दानाको काभ्रेदेखि पाँच घन्टाको पैदल दूरीमा रहेको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालक दलका तीन जना सदस्य सवार थिए । जहाजमा सवार २३ जनामध्ये १९ जनाको शव फेला परेको छ ।