ओली र मोदीले स्वीच दबाएपछि आउन थाल्यो विजुली

Kp-oli-And-Modi-6काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले स्वीच दबाएर सो प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगम लिमिटेड (एनभिभिएन)बीच यही फागुन ३ गते विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र एनभिभिएनका महाप्रबन्धक ए के मग्गुबीच विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो ।

सो सम्झौतालगत्तै प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ८० मेगावाट विद्युत् थप भएको छ । गत बुधबारदेखि भारतले नेपाललाई थप विद्युत् उपलब्ध गराउन थालेको हो ।

हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको सुदृढीकरण गर्ने र अन्य अन्तरदेशीय प्रसारण लाइन निर्माण गरी थप ६०० मेगावाट विद्युत् उपलब्ध गराउने बताउनुभयो ।