काठमाडौँ- शनिबार भारत र नेपाल बीच नौ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक भेटवार्तापछि बसेको दुई देशका प्रतिनिधिको बैठक लगत्तै नौ सम्झौतामा हस्ताक्षर भएको हो ।
भारतीय विदेश मन्त्रालयले नेपाल र भारतका बीचमा भूकम्पपछिको पुनःनिर्माण, तराई क्षेत्रको सडक निर्माण, झापाको काकडभिट्टादेखि बंगलादेशसम्मको करिडोर निर्माणसँगै विद्युत, यातायात लगायतका बुँदामा सम्झौता भएको जानकारी गराएको छ ।
२०१७ भित्रमा ६०० मेगावाट विजुली भारतबाट आउने
मुजफ्रपुर ढल्केबर प्रशारण लाइन सुचारु गर्ने र ८० मेगावाट विद्युत नेपाल आफूर्ति गर्ने विषयमा समेत सम्झौता भएको छ । सम्झौताको उक्त बुँदामा २०१६ अक्टोबरसम्मा २०० र २०१७ डिसेम्बर सम्ममा ६०० मेगावाट पुर्याइने उल्लेख छ ।
भारतले बंगलादेशसँग नेपाललाई रेल ट्रान्जिट दिने
सँगै सम्झौतामा भारतले बंगलादेसँगको नेपालको व्यापारका लागि सिंहवादबाट रेल परवाहन सुविधा दिने समेत उल्लेख छ । भारतले नेपाल र बंगलादेश बीचको व्यापार बढाउन काकडभिट्टा–बंगलाबन्द करिडोरका लागि समेत पारवहन सुविधा दिने सम्झौता गरेको छ ।
तेस्रो मुलुकसँगको व्यापारको बाटो सहज
सँगै भारतले नेपाललाई तेस्रो मुलुकसँगको व्यापारका लागि बन्दरगाह सञ्चालन गर्न दिने सम्झौतामा समेत हस्ताक्षर गरेको छ । उसले तेस्रो मुलुकसँगको व्यापारका लागि विशाखापटनम बन्दरगाह सञ्चालन गर्न दिने भएको हो । सँगै उसले विशाखापटनममा नै नेपाललाई रेल सुविधा दिने समेत सम्झौता भएको छ ।
तराईमा सडक पूर्वाधार विकास
भारत र नेपाल बीच नेपालको तराई क्षेत्रमा सडक पूर्वाधार विकासमा समेत सहयोग गर्ने विषयमा सम्झौता भएको छ । शनिबार भएको सहमति अनुसार भारतले तराईका विभिन्न क्षेत्रमा सडक पूर्वाधार विकासमा सहयोग गर्ने छ । भारतले तराईको भित्री भागमा रहेको हुलाकी राजमार्ग बनाउनमा सहयोग गर्दै आएको छ । हुलाकी राजमार्ग भारतकै सहयोगमा निर्माण भइरहेको छ ।
पुनः निर्माणमा साथ
भारतले वैशाख १२ मा गएको भूकम्पपछिको पुनःनिर्माणका लागि गरेको सहयोग घोषणाको रकम विभाजन गरेको छ । उसले घोषणा गरेको एक खर्ब रुपैयाँ मध्ये २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत पूर्ण ऋणमा परिणत गरेको छ ।
बौद्धिक प्रतिष्ठानबीच सहयोग आदानप्रधान
सँगै नेपाल र भारतका विशिष्ट व्यक्तको संयुक्त समूह गठन गरेर नेपाल प्रज्ञा प्रतिष्ठान र भारतको म्युजिक एन्ड ड्रामा एकेडेमी बीच सहयोग आदान प्रदान गर्ने विषयमा समेत सम्झौता भएको छ ।
विभिन्न नौ विषयमा भएको सम्झौता दुई देशका प्रधानमन्त्रीले आदानप्रदान गरेका छन् । सम्झौता हैदरावाद हाउसमा भएको हो ।






