काठमाडौं- एमाओवादीले वर्तमान सरकारको काम कारबाहीको समीक्षा गर्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पादन गर्न सरकारमा सहभागी मन्त्रीलाई निर्देशन दिएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शुक्रबार बसेको स्थायी समिति बैठकले सरकारको काम कारबाहीलाई जनताका पक्षमा केन्द्रित गर्ने र भूकम्पपछिको पुनः निर्माणलाई युद्धस्तरमा अगाडि बढाउने निर्णय गरेको छ ।
वर्तमान सरकार गठन भएपछि प्रभावकारी रुपमा काम हुन नसकेको जनगुनासो व्यक्त भइरहेका बेला पार्टीबाट सहभागी मन्त्रीलाई थप जिम्मेवार तुल्याउँदै राष्ट्र र जनताका पक्षमा काम गर्न आग्रह गर्ने निर्णय भएको अध्यक्ष दाहालले सञ्चारकर्मीलाई बताए ।
बैठकले जनवर्गीय सङ्गठनको कामलाई जनमुखी बनाउने, सङ्गठन सुदृढीकरणका निम्ति सम्मेलन, भेला आयोजना गर्ने तथा यसअघिको केन्द्रीय समितिको बैठकले अगाडि सारेको पार्टी पुन:निर्माण एवम् एकीकरणको कार्ययोजनालाई जनस्तरसम्म लैजाने निर्णय भएको उनले जानकारी दिए ।






