गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका ४ देशमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले १ करोड ५ लाख रुपैयाँ संकलन गरेका छन् ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको समुस्थस्थितिमा डिसेम्बर अन्तिम साता जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रममा सो रकम संकलन भएको हो ।
जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरे । यसैगरि बेल्जियममा आयोजित कार्यक्रममा ४३ लाख रुपैयाँ संकलन भएको फण्ड रेइजिङ कमिटि युरोपकी संयोजक जानकारी गुरुङले जानकारी दिनुभयो । सोही कार्यक्रममा नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
यसैगरि स्वीटरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ । एनआरएन अध्यक्षको यसपटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजित कार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको गुरुङले जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली संघले करिव १५ करोड रुपैयाँ लागतमा काठमाण्डौमा आफ्नै कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ । जसका लागि अध्यक्ष घलेले बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको भावनात्मक एकताको प्रतिकस्वरुप सवैको सहभागीता हुने गरी रकम संकलन अभियान संचालन गरिरहनुभएको छ ।
‘यसपटक युरोपमा हामीले अपेक्षा गरेभन्दा निकै उत्साहजनक सहभागीता रह्यो’ अध्यक्ष घलेले भन्नुभयो-‘एनआरएनको आफ्नै भवन बनाउने अभियानमा युरोपबासी नेपालीको ऐक्यबद्धता र हातेमालोप्रति म आभारी छु ।’
यो अभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकले सक्रियता सहभागीता जनाइसकेका छन भने युरोपका चारवटा मुलुकले पनि अध्यक्षको समुपस्थीतिमा रकम संकलन कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघले छिटै काठमाण्डौमा एनआरएन भवन निर्माण थाल्ने योजना बनाइरहेको छ ।
मन केसी
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद्
एनआरएन भवनका लागि युरोपबाट उठ्यो १ करोड पाँच लाख






