सरकारद्वारा ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउनेबारे प्रस्ताव

singha durbarकाठमाडौँ- सरकारले ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउनेबारे प्रस्ताव गरेको छ । गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको दिन वैशाख २४ गते सो दिवस मनाउन सूचना तथा सञ्चार मन्त्रालयलाई प्रस्ताव गरेपछि मन्त्रालयले विभिन्न सरोकारवाला निकाय तथा सो क्षेत्रका विज्ञसमक्ष छलफलका लागि प्रस्ताव प्रस्तुत गरेको हो ।

गोरखापत्रको जन्म सुधारवादी राणा प्रधानमन्त्री देवशम्शेर जबराको सत्प्रयासबाट १९५८ वैशाख २४ गते भएको हो । यो नेपाली भाषामा प्रकाशित पहिलो समाचारपत्र हो । विसं १९५८ देखि निरन्तर प्रकाशित गोरखापत्र अहिले गणतन्त्र नेपालको बहुभाषी राष्ट्रिय दैनिकको रूपमा चर्चित छ ।

गोरखापत्रको पहिलो प्रकाशनलाई महत्व दिएर त्यसको प्रकाशनको दिन पत्रकारिता दिवस मनाउनेबारे नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल, सूचना विभागलगायतका निकायसँग छलफल भइरहेको सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले जानकारी दिनुभयो ।

सो दिवस मनाउनेबारे छलफल प्रारम्भ भएको र अहिलेसम्मको छलफल दिवस मनाउनेतर्फ केन्द्रित भएको उहाँको भनाइ छ ।