काठमाडौं- संविधान संशोधन विधेयकमाथि २ दिनसम्म भएको छलफलमार्फत सांसदहरूले मधेसी मोर्चाको माग सम्बोधन गर्ने प्रयास गरेका छन् । उनीहरूले विधेयकमा परेका संशोधनले असन्तुष्ट पक्षका एजेन्डा समेटिने भएकाले त्यसका लागि तयार रहन मोर्चालाई शुक्रबार आग्रहसमेत गरे ।
व्यवस्थापिका–संसदमा पेस भएको विधेयकमाथि दफावार छलफलमा कांग्रेसलगायतका सांसदहरूद्वारा दर्ता गराइएका संशोधन प्रस्ताव पारित गर्दा संविधान कार्यान्वयनमा सहज हुने तर्क उठाइएको थियो । विधेयकमाथि दफावार छलफल शुक्रबार सकिएको छ ।
शनिबार दिउँसो बस्ने संसद बैठकअघि प्रमुख दल र मोर्चाबीच सहमति जुटे परिमार्जनसहित संशोधन प्रस्ताव अघि बढ्नेछ । सहमति हुन नसके सरकारले पेस गरेको मूल विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयको तयारी छ ।
सभामुख ओनसरी घर्तीले दफावार छलफल सकिएकाले सांसदहरूले राखेका धारणाको जवाफ सरकारका तर्फबाट मन्त्रीले शनिबार दिने र मूल विधेयकबारे प्रक्रिया अघि बढ्ने जानकारी दिइन् ।
नयाँ संविधानको धारा ४२, ८४ र २८६ लाई संशोधन गर्न सरकारले अघि बढाएको मूल विधेयकमाथि कांग्रेस, एमाओवादीसहितका सांसदहरूले विभिन्न २४ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
सरकारले ल्याएको संशोधन धारामा पहिलो समानुपातिक समावेशी सिद्धान्त, दोस्रो र तेस्रो निर्वाचन क्षेत्रसँग सम्बन्धित छन् । त्यसैमा केन्द्रित रही दफावार छलफल भएको थियो ।






