पुन:निर्माण अभियानका पाँच रोचक दृष्यहरु

President_Maha bhukampa purnarmanकाठमाडौं- सरकारले वैशाख १२ को ‘गोरखा भूकम्प’बाट भत्किएका संरचनाको पुन:निर्माण तथा नवनिर्माणको महाअभियान सुरु गरेको छ ।

भूकम्प गएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:निर्माण तथा नवनिर्माणको रानीपोखरीको पुन:निर्माण शिलान्यास गरेर तथा बेलुन उडाएर आरम्भ गरिन् ।
सरकारले १९ औं भूकम्प सुरक्षा दिवस २०७२ को अवसर तथा विसं १९९० माघ २ गते गएको महाभूकम्पको दिन पारेर राष्ट्रिय पुन:निर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका संरचनाको पुन:निर्माण महाअभियान सुरु गरेको हो ।

रानीपोखरी परिसर शान्ति बाटिकामा आयोजित महाअभियानको सुरुआतको विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति एवम् कूटनीतिक नियोगका प्रमुख लगायतको उपस्थिति थियो ।

कार्यक्रममा शनिबार केही रोचक दृष्यहरु देखिए-

– प्राय सधैं कार्यक्रममा ढिला आउने प्रधानमन्त्रीले शनिबार पनि त्यस्तै दोहोर्‍याए । प्रधानमन्त्री ढिला हुँदा शीतल निवासबाट राष्ट्रपति हिंड्न पाइनन् । उपराष्ट्रपतिभन्दा पाँच मिनेट पछाडि राष्ट्रपति सार्वजनिक समारोहमा उपस्थित हुने चलन छ ।

– मञ्चमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, दुई उपप्रधानमन्त्री र आयोजक समितिको अध्यक्षका हैसियतले गृहमन्त्रीको आसन थियो । तर, राज्यमन्त्री दीपकुमार साह एक्कासी मञ्चमा पुगे । पछि मर्यादापालकले फर्काए ।

– सबैलाई मञ्चमा चढाएर गृहमन्त्री उक्लन खोज्दा मर्यादापालकले गृहमन्त्री नै चिनेनन् र रोके । उनले चुपचाप ती मर्यादापालकको हात हटाउँदै मञ्चमा उक्लिए ।

– कार्यक्रममा महत्त्वपूर्ण भए पनि पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई बोलाइएन । उनलाई सिट पनि दिइएन । पछि उनका सहयोगी भूवन केसीले चिनाएर राज्यमन्त्री बस्ने ठाउँमा लगियो ।

– कार्यक्रमको सेड्युलमा राष्ट्रपतिको बिदाइपछि सम्बोधनको कार्यक्रम थियो । उदघोषणको जिम्मेवारीमा रहेकी पत्रकार महासंघकी उपाध्यक्ष अनिता विन्दुले एनसेटका कार्यकारी निर्देशक आमोदमणि दीक्षितलाई बोल्न दिएपछि प्राधिकरणका सीईओ रिसाएर मञ्चमा पुगे । र, दीक्षितलाई बोल्न रोके । उदघोषकले सच्याउँदै राष्ट्रपतिको बिदाइको कार्यक्रमबारे सुनाइन् । राष्ट्रपति निस्केपछिमात्रै थप कार्यक्रम अघि बढ्यो ।