लण्डन । ब्रिटिश राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने घोषणा गरिए लगत्तै ब्रिटेनस्थित नेपाली व्यवसायी तथा पेशाकर्मीहरुले नेपाल ब्रिटेन संबन्धको दुई सय वर्ष पुगेको अवसरमा नेपालको भ्रमण गर्न ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनलाई निमन्त्रणा पत्र दिन लागेका छन्।
बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाहरुको पहलमा आउँदो साता प्रधानमन्त्री क्यामरनलाई नै भेटेर त्यस्तो निमन्त्रणा पत्र हस्तान्तरण गरिने भएको छ ।
क्यामरनको नेपाल भ्रमणका लागि सामुदायिक स्तरबाट पहल सुरु गर्दै सोमबार लण्डनको इलिंगस्थित मोन्टिज रेष्टुरेन्टमा विभिन्न नेपाली संघसंस्स्थाका प्रतिनिधीबीच छलफल भयो ।
व्यवसायी राजाराम गिरीको अग्रसरतामा ब्रिटिश सांसद वीरेन्द्र शर्मासहितको उपस्थितिमा भएको छलफलमा अब औपचारिक रुपमै क्यामरनलाई भेटेर निमन्त्रणा पत्र दिने निर्णय गरिएको हो ।त्यसका लागि सांसद शर्माले यहि साताभित्र प्रधानमन्त्री कयामरनसंग समय मिलाउनका लागि पहल गर्ने आश्वासन दिएका छन्।
छलफलमा सांसद शर्मासंगै ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेल, सोलिसिटर राजु थापा, नेप्लीज क्याटरिंग एशोसिएसनका अध्यक्ष विजय थापा, आरती श्रेष्ठ, तमु धि यूकेका उपाध्यक्ष ज्ञाम गुरुंग, एनआरएन युके सल्लाहकार कमल गुरुंग, नेपाली साहित्य परिषद युकेका अध्यक्ष सुरेशजंग शाह, पत्रकार एभरेष्ट गौतम लगायत सहभागी थिए ।
नेपालको सरकार तथा यहांस्थित दूतावासबाट पनि पहिलेदेखि नै क्यामरनको नेपाल भ्रमणका लागि पहल हुंदै आएको छ । यहि सन्दर्भमा सामुदायिक स्तरबाट पनि पहल हुन सके त्यो थप प्रभावकारी हुने भन्दै व्यवसायी गिरीले यहांका विभिन्न संघसंस्थाको सहकार्यमा प्रधानमन्त्री क्यामरनलाई नेपाल भ्रमण गर्न आग्रह गर्न लागिएको बताए ।
ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्विपक्षीय दातृ राष्ट्र हो भने वर्षेनी झण्डै तीसहजार ब्रिटिश पर्यटकहरुले नेपाल भ्रमण गर्ने गरेका छन्।







