सोल- जापानी प्रधानमन्त्री सिन्जो अबेले दोस्रो विश्वयुद्धमा जापानी सेनाले दक्षिण कोरियाका महिलालाई गरेको भनिएको यौनदाशीका विषयमा क्षमा मागेका छन् ।
दोस्रो विश्वयुद्धका समयमा जापानी र दक्षिण कोरियाली सेनाकाबीचमा निकै नै विवाद थियो । सो समयमा जापानी सेनाले दक्षिण कोरियाली महिलालाई यौनदाशी बनाएको आरोप दक्षिण कोरियाले लगाएको थियो ।
प्रधानमन्त्री आबेले सो विषयमा दक्षिण कोरियासँग क्षमायाचना गरेको जापानी विदेशमन्त्री फुमियो किसिदाले जानकारी दिएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा सोमबार जापानी र दक्षिण कोरियाली विदेशमन्त्रीद्वारा गरिएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उनले प्रधानमन्त्रीको सो सन्देश पढेर सुनाएका थिए ।
प्रधानमन्त्री आबेले सो घटनाका लागि आफूले जापानका तर्फबाट क्षमामाग्दै यसबाट दक्षिण कोरियाली नागरिकहरुमा पर्न गएको दूःखप्रति गहिरो चासो पनि व्यक्त गरेका छन् । यस विषय जापान र दक्षिण कोरियाबीचको विगत लामो समयदेखिको विवादास्पद विषयका रुपमा रहेको थियो ।
दक्षिण कोरियाले जापानले गरेको यस गल्तीका लागि माफी माग्नुपर्ने माग विगतदेखि नै गर्दै आएको थियो । दोस्रो विश्वयुद्धका यी प्रतिद्वन्द्वी राष्ट्रको सम्बन्धमा पनि यसै विषयका कारण दरार उत्पन्न हुँदै आएको थियो ।






