विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने तयारी

tia nepalकाठमाडौँ- व्यक्तिगत रुपमा विदेश गई फर्केर आएका कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आमगमन कक्ष स्थापना गरी अभिलेख राख्ने र पुनः श्रम स्वीकृति दिने व्यवस्था लागू गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गत मङ्सिर २४ गते पारित गरेको ‘तत्काल सुधार कार्ययोजना’ मा छ महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइने उल्लेख छ ।

न्यून लागतमा कामदार पठाउन प्रमुख गन्तव्य मुलुकसँग तीन महिनाभित्रै श्रम सम्झौता गर्ने, निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्थाअनुरुप काम भए÷नभएको अनुगमन गरिने कार्ययोजनामा उल्लेख छ ।

स्तरोन्नत्तियुक्त एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली लागू गरी वैदेशिक रोजगारमा जाने आउनेको विवरण छ महिनाभित्र अभिलेखिकरण गरिसक्ने कार्ययोजनामा छ ।

नेपालको विदेशस्थित नियोगले नेपाली कामदार तथा नेपाली नागरिकलाई पुर्‍याउने सेवा, सुविधा अझ सहज तथा प्रभावकारी बनाउन, वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारले पाउने सहयोग रकम समयमै दिलाउन परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयले समन्वय गरी कार्य गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

इजरायलमा पहिलो चरणमा तीन सय नेपाली कामदार पठाउने कार्य छ महिनाभित्र सम्पन्न गर्ने, नेपालमा रहेका विदेशी कामदारको अनुगमन, अनिवार्य श्रम स्वीकृति प्रदान र अभिलेख व्यवस्थापन एक वर्षभित्र गरिने कार्ययोजना सरकारले तयार पारेको छ । –किरण भट्टराई/रासस