मोर्चालाई मनाउन कांग्रेसले थाल्यो छलफल

prachanda sushilकाठमाडौँ– संविधान संशोधन र तराई मधेसमा आन्दोलनरत मधेसवादी दलले उठाएका माग सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एकीकृत नेकपा (माओवादी)बीच छलफल भएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको द्विपक्षीय छलफलमा मधेसवादी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन विधेयकलाई अगाडि बढाउने र मुलुकले भोगिरहेको समस्या समाधान गर्न दुवै पक्ष सहमत भएका छन् ।

व्यवस्थापिका–संसद्को बैठक आइतबार बोलाइएको छ । बैठक अगावै एउटा सहमतिमा पुग्ने उद्देश्यका साथ छलफल भएको बैठकमा सहभागी नेताले जानकारी दिनुभएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहनु भएका अध्यक्ष दाहालको सक्रियतामा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयत्न भइरहेको छ ।

शनिबार नै कांग्रेस र मोर्चाबीच छलफल हुने र साँझ पुन कांग्रेस, एमाओवादी र मोर्चाबीच त्रिपक्षीय छलफल गर्ने सहमति समेत भएको बताइएको छ ।