मलाई अधिकार दिनुस्: नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच संविधानका अन्तरवस्तुमा सहमति हुन नसकेको अवस्थामा आफूलाई संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने अधिकार दिनु उपयुक्त हुने बताउनुभएको छ ।
आजको कार्यव्यवस्था समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उहाँले आउँदो सोमबार (चार दिन) भित्र विवादित विषयमा सहमतिमा पुग्न आग्रह गरिएको र कथम्कदाचित सहमति नभए माघ ८ गतेभित्र संविधान जारी गर्न कार्यतालिका छोट्याउन नियम निलम्बन गर्ने र प्रारम्भिक मस्यौदा ल्याउने अधिकार आफूलाई दिन पनि प्रस्ताव गरेको जानकारी गराउनुभयो ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सहमति नहुँदा प्रतिवेदन तयार गर्ने स्वविकेकीय अधिकार सभापति डा बाबुराम भट्टराईलाई दलहरूले नै दिएको नजिर स्मरण गराउँदै उहाँले भन्नुभयो – “तपाईंहरूले चाहँदा सहमति गर्न नसके केही छैन । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन पनि विगतमा सहमति गर्नुभयो, त्यसकारण अहिले पनि यदि सहमतिमा जटिलता हो भने मलाई अधिकार दिनुस् भनेको हुँ ।”
त्यसरी आफूलाई अधिकार दिइएको अवस्थामा दलहरूलाई आफ्ना अडान र जुँगाको लडाईंका कुरा जनतामा त्यही ढङ्गले राख्न सकिने र कुनै अबगाल वा दोष भएमा सभाध्यक्षलाई नै लगाइदिन पनि आफूले आग्रह गरेको उहाँले बताउनुभयो ।