
जाडोमा रुघाखोकीले सताएको छ ? नआत्तिनुस् घरमै पनि उपचार गर्न सक्नुहुन्छ ।
रुघाखोकी भएपछि घरेलु उपचार अन्तर्गत तुलसी, बेसार, मरिच, दालचिनी, सुकेको अदुवा, असुरो (मधेसमा यसलाई बाकस भनिन्छ) को पात, गुर्जो (मधेसमा यसलाई गुडुची भनिन्छ), नुन र मधुमेह नभएकाहरूले अलिकति चिनी हालेर सबै वस्तुलाई चिया जस्तै पकाएर खाँदा सन्चो
हुन्छ । गुर्जो स्वाइन फ्लु, चिकेन गुनियाको उपचारमा समेत प्रभावकारी देखिन्छ ।
रुघाखोकी नभएकाहरूले पनि यसको संक्रमणबाट जोगिन जाडोयाममा तुलसीको पात, बेसार, दालचिनी, मरिचको काढापानी बनाएर चिया जस्तै खाने गरे यो समस्याले छुन सक्दैन ।
अदुवाका ससाना चानाहरू तताई नुन छर्केर खाँदा वा तातो दूधमा बेसार मिलाएर खाँदा पनि फाइदा हुन्छ । लक्ष्मीविलास रस बच्चाले एक र वयस्कले दुई गोली गरी दुई पटक खाँदासमेत रुघाखोकीबाट राहत मिल्छ ।
यदि अलि मिहिनेत गर्ने हो भने लक्ष्मीविलास रस २५० मिलिग्राम, त्रिभुवन कीर्तिरस २५० मिलिग्राम, शृंग भस्म २५० मिलिग्राम र त्रिकटु चूर्ण एक ग्रामलाई राम्ररी मिसाएर एक सातासम्म बिहानबेलुका एकएक चम्चा महसँग सेवन गर्नाले समेत रुघाखोकीबाट आराम पाउन सकिन्छ ।
रुघाखोकी लगेका बेला बसा अवलेह बिहानबेलुका ठूलाले दुई चम्चा र बालबालिकाले एक चम्चा खाने गर्दा समेत फाइदा हुन्छ । यस्तै, लवंगादि वटी दुई गोली बिहान र दुई गोली साँझ चुस्दा वा प्रतिशायहर वटी दुईदुई गोली बिहानबेलुका चुस्दा पनि लाभ हुन्छ ।
मह र कागती तातो पानीमा मिसाएर पिउनाले समेत रुघाखोकीमा फाइदा हुन्छ । बिहानबेलुका अदुवाको रस र मह मिसाएर खने गर्नाले पनि रुघाखोकीबाट छुटकारा पाउन सकिन्छ । तुलसी, अदुवा र मरिचको चिया खाँदा समेत फाइदै हुन्छ । लसुनको पोटीलाई तातो पानीमा उमालेर पिउनाले पनि तुरुन्त फाइदा हुन्छ ।
घाँटीमा खसखस भए, नाक बन्द भए एक गिलास तातो पानीमा एक चिम्टी नुन हालेर कुल्ला (गार्गल) गर्दा पनि चाँडै आराम हुन्छ ।






