कुसहवा र बरइपुर गाविस शोकमा

भारतको मुम्बई सहरमा आगलागीमा परी सातजनाको मृत्यु भएको खबरले कपिलवस्तुको कुसहवा गाविस र बरइपुर गाविस पूरै शोकमा डुबेको छ । आगलागीमा परी कुसहवा गाविस वडा नं ५ सतभरा गाउँका २६ वर्षीय गौरी चौहान, २२ वर्षीय गणेश लोनिया, २० वर्षीय मुन्नेलाल अहिर, ३१ वर्षीय मुरली मुराउ र १६ वर्षीय सहेरकुमार रैदास रहेका छन् ।
यसै गरी बरइपुर गाविस वडा नं ८ का ३० वर्षीय राम दयाल भर र सोही गाविस वडा नं ५ का ३० वर्षीय राममिलन चौधरीको जलेर मृत्यु भएको प्रहरी उपरीक्षक विक्रम गुरुङले बताउनुभयो ।
सातजना युवाको मृत्यु भएको खबरले दुवै गाविसमा रुवावासी चलेको छ । आर्थिक अवस्था कमजोर भएका कारण रोजगारीका लागि भारतको मुम्बईको भिवन्डी सहरबाट १५  किलोमिटरको दूरीमा रहेको काठ गोदाममा पुगेका उनीहरुको शनिबार बिहान आगलागीमा परी मृत्यु भएको थियो ।
आगलागीमा गम्भीर घाइते भएका अन्य तीनजना पनि सतभरा गाउँका २१ वर्षीय विनोद अहिर, १९ वर्षीय मृरिह लोनिया र २१ वर्षीय बुद्दे लोनिया रहेका छन् । काठगोदाममा काम गर्ने उनीहरु राति सुतिरहेका बेला ३ बजेतिर भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह नेतृत्वको स्थानीय प्रशासनको एक टोलीले शोकमा डुबेका मृतकका परिवारजनसँग भेटघाट गरेका छन् । मृतक परिवारका लागि आवश्यक राहत रकम प्रदान गर्न र शव ल्याउन गृह मन्त्रालयमा अनुरोध गरिसकेको प्रमुख जिल्ला अधिकारी सिंहले बताउनुभयो । घटनाको खबर पाउने बित्तिकै मृतकका परिवारजन मुम्बईतर्फ लागि सकेको कुसहवा बढनी प्रहरी चौकीले जनाएको छ ।