काठमाडौं- लामो संवादहीनता तोड्दै सोमबार भएको त्रिपक्षीय वार्ता सकारात्मक भए पनि नेताहरुले सहमतिको मिलनविन्दूबारे बोलेका छैनन् । बुधबार निर्णायक वार्ता हुने तयारी भइरहँदा सहमतिको मिलनविन्दूबारे अड्कलबाजी सुरु भएको छ ।
सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच सोमबार भएको छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताएका छन् ।
प्रतिपक्षी दलका नेता एवम् कांग्रेसका सभापति सुशील कोइरालाले मोर्चाले राखेको ११ बुँदे मागका सम्बन्धमा प्रमुख दलहरुबीच गहन छलफल गरी यही मङ्सिर १६ गते पुनः अर्को वार्ता हुने जानकारी दिएका छन् ।
सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईका अनुसार सीमाङ्कनको विषय बैठकमा प्रवेश भएको छैन ।
राईले सिमांकनबारे छलफल नभएको बताइरहँदा दलहरुबीच त्यसबारे पनि मोटामोटी सहमति भएको बताइएको छ । स्रोतका अनुसार बुधबार राति मधेसी मोर्चासँग सहमतिपत्रमा हस्ताक्षर हुने सम्भावना छ ।
बैठकमा सहभागी एक नेताका अनुसार मोर्चाले राख्दै आएका पूर्वका तीनमध्ये मोरङ र सुनसरी तथा पश्चिमका कैलाली जिल्ला टुक्र्याउन दलहरु सहमत भएका छन् ।
अहिलेसम्म भएको भद्र सहमतिलाई पालना गरे बुधबारको वार्ता निष्कर्षमा पुग्ने अनुमान गरिएको छ ।
योसँगै भारतले पनि वार्तालाई तत्काल जसरी भए पनि निष्कर्षमा पुर्याउन आन्दोलनकारीलाई दबाब दिएको छ । भारतीय राजदूतले यसबीचमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति कोइराला र मोर्चाका नेता महन्थ ठाकुरसँग भेटेर वार्ता टुंगोमा पुर्याउन अपिल गरेका छन् ।






