लालबाबुले सुरु गरेको दुई सिफ्टको सेवा रोक्ने तयारी

POST PHOTO/KIRAN PANDAY/KANTIPUR

काठमाडौं– सामान्य प्रशासन मन्त्री रेखा शर्माले पूर्ववर्ति सरकारले सुरु गरेको दुई सिफ्टको सेवा रोक्ने तयारी गर्नुभएको छ ।

सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयहरुमा विहान र साँझको समयमा पनि सेवा प्रवाहको व्यवस्था मिलाइए पनि प्रभावकारी हुन नसकिरहेकाबेला मन्त्री शर्माले दुई सिफ्टको सरकारी सेवा पुनरावलोकन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सेवाग्राहीको बढी भीड हुने यातायात, मालपोत, नापी, जिल्ला प्रशासन लगायतका कार्यालयहरुमा गत बर्ष पुस १ गतेदेखि विहान ६ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रवाह गर्ने व्यवस्था सरकारले मिलाएको छ ।

‘दुई सिफ्टको काम राम्रो हो । तर, प्रभावकारी भएन भन्ने गुनासो आएको छ । हामी त्यसको समिक्षा गरी अघि बढ्छौं,’ मन्त्री शर्माले भन्नुभयो ।

सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणी शर्माले पनि दुई सिफ्टको काममा सुस्तता आएको भन्दै त्यसमा समिक्षा गरी अघि बढ्ने बताउनुभयो । पर्याप्त अध्ययन विना काम सुरु गरेकाले प्रभावकारी नभएको गुनासो आएको भन्दै उहाँले कसरी सेवाग्राहीलाई सहजरुपमा सेवा दिन सकिन्छ भनेर आफूहरु गृहकार्यमा जुटिरहेको जानकारी गराउनुभयो ।

सचिव शर्माले दुई सिफ्टको सेवा सञ्चालन भैरहेका कार्यालयका प्रमुख वा प्रतिनिधिहरुसँग छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

तर डीभी पीआरलाई निरन्तरता
तर, सामान्य प्रशासन मन्त्री रेखा शर्माले डिभी पीआर सम्वन्धी अघिल्लो सरकारले गरेको निर्णयलाई नै निरन्तरता दिने बताउनु भएको छ ।

उहाँले मन्त्री लालबाबु पण्डितका पालामा भएको डिभी पीआर लिएका कर्मचारीलाई सेवाबाट हटाउने निर्णयलाई निरन्तरता दिने बताउनु भएको हो ।

विस्तृत र ठोस योजनासहित प्रतिबद्धता पत्र केही दिनमै सार्बजनिक गर्ने भन्दै उहाँले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न निर्मम ढंगले प्रस्तुत हुने बताउनुभयो । मन्त्रालयका सचिव र सहसचिवहरुसमेत सहभागी छलफल कार्यक्रममा मन्त्री शर्माले प्रशासन क्षेत्र सुधारका लागि आफूले गर्ने योजनाबारे जानकारी समेत गराउनुभयो ।