भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग

Caders of Madhesi Morcha forcing to shut down market areas in Rajbiraj, on the first day of two day general strike on Sunday, August 16, 2015. Photo: Byas Shankar Upadhyaya

चुरेभावर लोकतान्त्रिकका अध्यक्ष भुमिराज निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘विदेशीको निहित स्वार्थसिद्धिका निम्नि गोटी बन्ने केही कथित मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आममधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता उत्रने छन् भन्ने कुरा हाल मोरङ र सुनसरीमा भइरहेको नागरिक समाजको आन्दोलनमा आमजनताको स्वस्फूर्त उपस्तितिले छर्लङ्ग पारिसकेको छ ।’
आन्दोलनको प्रतिकारमा चुरेभावरले तन मन धनले सहयोग गर्ने उल्लेख गरिएको छ । ‘ नागरिक समाजको अगुवाइमा आन्दोलित भइरहेको सन्दर्भमा चुरेभावर लोकतान्त्रिक पार्टीले देशलाई शिरमा र जनतालाई केन्द्रबिन्दुमा राखेर नागरिक समाजले गरेको जनपरिचालनप्रति ऐक्यबद्धता जनाउँदै स–शरीर उपस्थिति जनाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
चुरेभावरले नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग गरेको छ ।
यस्तो छ विज्ञप्तिः जस्तोको तस्तै
प्रेस विज्ञप्ति
नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दीका कारण आज देश अत्यन्त सङ्कटको भुमरीमा फसेको कुरा हामी सबैमा सर्वविदित नै छ । मधेसवादी दलका नाममा केही विदेशीका खेतालारूपी अङ्गीकृत नागरिताधारी व्यक्तिहरूले तराई मधेसलाई आफ्नो विर्ता–बपौतीसरह सम्झी नेपाल र भारतको सिमानमा गरिरहेको कथित आन्दोलनको समर्थनमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीका कारण देश बन्धक झैँ भएको र सर्वसाधारण जनता भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको प्रति चुरेभावर लोकतान्त्रिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । युद्धको बेलामा पनि खुला रहने खाद्यान्न, इन्धन, बिरामीले प्रयोग गर्ने ग्यास, औषधि जस्ता संवेदनशील सामग्रीसमेत ओसार–पसारमा प्रतिबन्ध लगाइएकाले नेपाली जनतालाई उपचारबाट वञ्चित गराई अत्यन्तै अमानवीय व्यवहार भएको छ ।
त्यसकारण भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विरुद्ध नेपाल सरकारको मन्त्रिपरिषद्ले निर्णय गरी अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । विदेशीको निहित स्वार्थसिद्धिका निम्नि गोटी बन्ने केही कथित मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आममधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता उत्रने छन् भन्ने कुरा हाल मोरङ र सुनसरीमा भइरहेको नागरिक समाजको आन्दोलनमा आमजनताको स्वस्फूर्त उपस्तितिले छर्लङ्ग पारिसकेको छ ।
केही अङ्गीकृत नागरिकताधारीको माग पूरा गर्ने नाममा सुनसरी र मोरङ जिल्लालाई टुक्र्याउने प्रसङ्ग उठनासाथ त्यस क्षेत्रका जनता स्वतःस्फूर्त रूपमा अखण्ड सुनसरी र मोरङको पक्षमा नागरिक समाजको अगुवाइमा आन्दोलित भइरहेको सन्दर्भमा चुरेभावर लोकतान्त्रिक पार्टीले देशलाई शिरमा र जनतालाई केन्द्रबिन्दुमा राखेर नागरिक समाजले गरेको जनपरिचालनप्रति ऐक्यबद्धता जनाउँदै स–शरीर उपस्थिति जनाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी गराउँदछौँ । साथै, आमजनतालाई आन्दोलनमा सरिक भइदिन पनि अपिल गर्दछौँ । देशको सङ्घीय व्यवस्थाअनुसार प्रदेशहरूको सीमाङ्कन गर्दा तराई र पहाडलाई नछुट्ट्याउनका लागि तराई र पहाडको पुलको रूपमा छुट्टै चुरेभावर प्रदेश बनाइनुपर्दछ । चुरेभावर क्षेत्रलाई कुनै अङ्गीकृत नागरिकताधारीको राजनीतिक खेल मैदान बनाउन दिइने छैन भन्ने कुरामा पार्टी दृढसङ्कल्पित रहेको पनि स्मरण गराउन चाहन्छौँ ।
…………………………….
(भूमिराज निरौला)
अध्यक्ष
चुरेभावर लोकतान्त्रिक पार्टी