काठमाडौं- बंगलादेश पेट्रोलियम कर्पोरेसन (बीपीसी)ले नेपाललाई इन्धन दिन सैद्धान्तिक सहमति जनाएको छ । उसले ग्यास भने दिन नसकिने जनाएको छ ।
नेपाल आयल निगमको टोलीलाई बीपीसीले इन्धन उपलब्ध गराउने आश्वासन दिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । उनले एलपीजी ग्यास बंगलादेशमा आपूर्ति नहुने भएकाले त्यसबाहेक पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन चाहिएको परिमाणमा उपलब्ध गराउन बीपीसी तयार रहेको जानकारी दिए।
घिमिरेका अनुसार इन्धन दिन बंगलादेश तयार भए पनि इन्धन आपूर्ति गर्न मुख्य समस्या स्थलमार्गको हो। स्थलमार्गमार्फत ल्याउँदा भारतको बाटो भएर ल्याउनुपर्ने भएकाले भारतले अवरोध गर्दा समस्या आउनसक्ने चिन्तासमेत बंगलादेशको टोलीले व्यक्त गरेको छ।
यसैबीच भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसमा जारी आन्दोलन हल गर्नेतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएका हुन्।






