
ग्वान्झाओ (चीन) – व्यापारिक प्रक्रियाबाट तत्कालै नेपाललाई इन्धन उपलब्ध गराउन आग्रह गर्दै प्रधानमन्त्री केपी ओलीले चीन सरकारलाई लेखेको चिठी बोकेर वाणिज्य तथा आपूर्ती मन्त्री गणेशमान पुन बेइजिङ पुगेका छन्।
कुनै सरकारी अधिकारी साथमा नलिई हङकङ हुँदै सोमबार बिहान बेइजिङ पुगेका मन्त्री पुनले दिउँसो चिनियाँ अधिकारीहरूसँग भेटवार्ता गरेको छन्। चीनसँग पेट्रोलियम पद्धार्थ खरिद गर्न समझदारी भैसकेको अवस्थामा व्यापार सम्झौता गर्नुअघि मन्त्री पुनले चिनियाँ अधिकारीहरूलाई अहिलेकै मूल्य कायम हुने गरी कर मिनाह गरिदिन आग्रह गरेको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्रीको पत्रमा पनि अहिलेकै मूल्य कायम हुने गरी चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।
वाणिज्य मन्त्री गणेशमान पुन हङकङ हुँदै बिहान बेइजिङ आइपुग्ने खबर पाएपछि नेपाली दूताबासका अधिकारीले केही भेटवार्ता मिलाउन सहयोग गरे पनि उनीहरूलाई दिउँसो वाणिज्य मन्त्रालय र पेट्रो–चाइनाका अधिकारीहरूसँग भएको भनिएको भेटवार्तामा सहभागी गराइएन। मन्त्री पुनले प्रधानमन्त्री ओलीको चिठी बोकेर आएको सुनेको बताउँदै दूताबासका एक अधिकारीले उपलब्धिमूलक भयो भने अनौपचारिक भ्रमण भए पनि फरक नपर्ने बताए।
‘पेट्रोलियम पद्धार्थ आयात गर्नेबारे छलफल गर्न वाणिज्य मन्त्री नै चीन आउनु भनेको बेइजिङमा निकै ठूलो इभेण्ट हो तर त्यस्तो केही देखिएको छैन’, दूताबासका ती अधिकारीले सोमबार साँझ भने, ‘दिउँसो भेटवार्ता भइरहेको छ भन्ने सुनेको हो तर कुनै ब्रेक थ्रु भएको थाहा पाइएको छैन।’
भारतको नाकाबन्दीले इन्धनको हाहाकार मच्चिएको बेला व्यावसायी नरेन्द्र उलकको साथमा मन्त्री पुन शुक्रबार बिहान सुटुक्क हङकङ ओर्लिएका थिए। हङकङस्थित महावाणिज्य दूताबासका अधिकारीलाई नीजि भ्रमणमा आएको खबर दिएर मन्त्री पुनले त्यहाँ खाना पकाउने ग्यास आपूर्ती व्यवस्था मिलाउनेबारे चिनियाँ व्यावसायीहरूसँग छलफल गरेको बताइएको छ ।
मन्त्रीको हङकङ बसाईबारे उल्लेख गर्न नचाहेका व्यावसायी उलकले बेइजिङमा भने पेट्रोलियम पद्धार्थको मूल्य समायोजनबारे छलफल केन्द्रित भएको दावी गरे। ‘चीनबाट आयात गरिने पेट्रोलियम पद्धार्थको मूल्य पनि अहिले नेपालमा रहेको मूल्य अनुसार नै हुने गरी मिलाउने प्रयास भइरहेको छ’, उलकले भने, ‘चीनले कर छुट दिए मूल्य कम पर्ने भएकाले मन्त्री पुनले बेइजिङ आएर त्यो प्रयास गरिरहेका छन्।’
पुनले बेइजिङमा सोमबार नै चाइना युथ फेडरेशनका पदाधिकारीहरूसँग पनि भेटवार्ता गरेको बुझिएको छ । सरकारी टोलीको नेतृत्व गरी दुई साताअघि बेइजिङ पुगेर पेट्रोलियम पद्धार्थ आयात गर्ने समझदारी गरी फर्केका चीनका लागि नेपाली राजदूत महेश मास्के काठमाडौँमै छन् । राजदूत मास्केले बेइजिङमा मन्त्रीको भेटवार्ताबारे आफुलाई थाहा नभएको बताए ।
आफ्नो मन्त्रालयका अधिकारी तथा राजदूत मास्के सहित पहिला बेइजिङ गएको टोलीका कोही पनि सदस्य नलिई हिंडेका मन्त्री पुनको भ्रमणको उद्देश्य आधिकारिक रुपमा खुल्न सकेको छैन । मन्त्रालयको टिम र दूताबासका अधिकारी बिना बेइजिङमा एक्लै उपस्थित हुँदा मन्त्रीको भ्रमण निरिह देखिएको छ ।






