काठमाण्डौ २४ कार्तिक । अनमोल केसी अहिलेका ‘हटकेक’ हिरो हुन्। लगालग दुई हिट फिल्म ‘होस्टेल’ र ‘जेरी’ दिइसकेका अनमोल यति बेला बुबा भुवनको निर्देशन र निर्माणमा बनिरहेको ‘ड्रिम्स’ बाट सफलतामा ह्याट्रिक गर्ने दाउमा छन्। हिजोआज अनमोलको नामले पनि फिल्म बिक्ने स्थिति बन्न थालेको छ।
यही सेरोफेरोमा अनमोललाई उनकी आमा सुस्मिताले पनि क्यास गर्ने भएकी छन्। तर, कलाकारका रूपमा नभई निर्माताका रूपमा। सुस्मिता पति भुवनसँग अलग भएपछि यति बेला एक्लै फिल्म निर्माणमा कस्सिएकी छन्।
उनले आइतबार ‘म त तिम्रै हुँ’ निर्माण घोषणा गरिन्। अनमोललाई पनि एक निर्माताका रूपमा राखेकी सुस्मिताले निर्देशनको बागडोर भने श्रीराम महतलाई सुम्पेकी छन्। आफ्नै कथामा कृष्ण आचार्यलाई पटकथा लेखाएकी सुस्मिताले अभिनय पनि गर्नेछिन्। उक्त फिल्ममा उनी र विजय लामाबाहेक सबै नयाँ कलाकार हुनेछन्। आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्स्ना योगी, सुशील काफ्ले, अनुपम श्रेष्ठ, सुशन खडकाको डेब्यु रहने फिल्ममा अनमोलले भने खेल्ने छैनन्। उक्त फिल्म सोमबारदेखि नै छायांकनमा जानेछ।
फिल्मले महिला संवेदनाको विषयवस्तु उठान गर्ने दाबी निर्माण पक्षको छ। अनमोलले आमालाई निर्माणमा मद्दत गर्ने बताउँदै फिल्म राम्रो बनाउने प्रतिक्रिया दिए। फिल्ममा आमाछोराबीचको भावनात्मक सम्बन्धको कथा भएको जिकिर गर्दै यसले टिनएजर्सलाई बढी तान्ने अपेक्षा गरेको उनले बताए। आफू खेल्दा फिल्मको कथा पहिले नै खुल्ने भएकाले नखेलेको संकेत गरे।







