लन्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले भारत सरकारलाई एक पत्र लेख्दै नेपालमाथि जारी अघोषित नाकाबन्दीको विरोध गरेको छ। नेपालमाथि भइरहेको अन्याय र अत्याचार बन्द गर्न आग्रह गर्दै समितिले शनिवार बेलायतस्थित भारतीय दूतावासलाई एक पत्र बुझाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वेलायत भ्रमणको कार्यक्रमलाई लक्षित गर्दै समितिले नेपालमा भारतले गरेको निन्दनीय आर्थिक नाकाबन्दीबिरुद्ध बेलायतस्थित भारतीय दूतावासमा ७ नोभेम्बर २०१५ का दिन पत्र बुझाएको हो ।
समितिले पत्रमा भनेको छ, हामी नेपाली विश्वको जुनसुकै स्थानमा रहेपनि कसैले आफ्नो देश नेपालमाथि अन्याय अत्याचार गरेको सुन्न, सहन सक्तैनौं। त्यसको प्रतिवाद गर्छौं, प्रतिकार गर्छौं। पत्रमा भनिएको छ, नेपालको संबिधानको विषयमा भारतलाई बोल्ने अधिकार छैन। हो, आदिवासी जनजाति, मधेसी, थारु समुदायका झैं हामी ब्रिटिश गोरखाहरुका नेपाली नागरिकता निरन्तरतालगायतका मागहरु संबिधानसभाबाट बेवास्ता गरिएकोछ। र हामी कुनै पनी मुल्यमा हाम्रा मागहरु संबिधान संशोधनमार्फत पुरा गराएरै छाड्छौं। तर हाम्रो आन्तरिक बिषयमा कुनै बिदेशी शक्तिको सहयोग वा हस्तक्षेप कुनै हालतमा स्विकार्न सक्तैनौ।
समितिले पत्रमा अगाडि भनेको छ, देशको आन्तरिक बिषयलाई आवेगमा आएर वाह्य शक्ति प्रयोग गर्दै राष्ट्रिय सार्वभौमिकता लीलाम गर्ने काम कुनै नेपाली नागरिकले गर्न सक्तैन। गलत औजारको प्रयोगले अन्तत; आँफैलाई क्षति पुर्याउछ।
पत्र हेर्नुहोस्…









