उ तर्सिदै फोन गरी – तिमी बिबाहित हो र?

कामको लागि अफिसबाट निस्केर कुपण्डोल पुगेको थिएँ, एक युवती मोटरसाइकल रोक्न हातले इशारा गरीन्।
उनले लिफ्ट मागी–पुतलीसडकतिर जाने हो तपाईँ ? मिल्छ भने मलाई पनि लगिदिनोस् न।
मैले मोटरसाइकलमा बस्न भनें। हुनत नाकाबन्दीले तेल अभाव भएपछि बाटोमा हात हल्लाएर मोटरसाइकल रोक्ने धेरैलाई गिफ्ट दिएकै हो। तर त्यसअघि कुनै युवतीले लिफ्ट मागेकी थिइनन्।  बाटोमा उ एकोहोरो बोलिरही–कहिलेसम्म इन्धन सहज होला र घरमा थन्क्याएर राखेको स्कुटी चलाउन पाउने हो।
कुपण्डोलको बागमती पुलनजिकै साइरन बजाउँदै आएको मन्त्री चढेको गाडीले हामीलाई ओभरटेक गर्‍यो।
मन्त्रीको गाडी कटेपछि उसले भनी– हामीलाई एउटा गाडी चढ्न तेल छैन् उनीहरुलाई तीनवटा गाडी चढ्न तेल छ। एउटामात्र गाडी चढे हुँदैन।
त्यतिञ्जेलसम्म म केही बोलेको थिइन। उ कस्ती छे भनेर लुकिङ ग्लासमा  बेला बेलामा नजर लगाउँदा मुखमा मास्क र कानमा एयरफोनको ठेडी लगाएको देखियो।
थापाथली पुगेपछि उसले सोधी–कहाँसम्म पुग्ने हो तपाईँ?
नक्साल।
‘पुलिस हो तपाईँ‘ उसले फेरि सोधी।
‘नक्साल जानेजति सबै पुलिस नै हुन्छन् र ?‘ मैले प्रतिप्रश्न गरें।
होइन त्यहाँ हेडक्वाटर छ नि त शंका पो गरेको त?‘ स्थिति सहज बनाउँदै उसले भनी– के काम गर्नुहुन्छ नी?
मैले भनें– पत्रकार हुँ।
पुतलीसडकको कुमारी बैंक पुग्दा मोटरसाइकल रोकिदिन आग्रह गरी। मैले मोटरसाइकल रोकें।
झर्ने बेलामा उसले भनी– वाइ द वे म रिमा। मैले वेल कम भन्न नभ्याउँदै उसले भिजिटिङ कार्ड मागी।
दिउँ कि नदिउँ दोधारमा परें। मन नलागि नलागि पर्सबाट कार्ड निकाले।  कार्ड समाउँदै  उसले बाइ भन्दै हात हल्लाई।
***
अर्कोदिन बिहान ७ बजेतिर एनसेलको नम्बरबाट फोन आयो। ‘गुड मर्निङ प्रकाश जी‘ उठाउनासाथ युवती बोलिरहेकी थिइ।
मैले उसको परिचय मागे। म रिमा के त? हिजो मैले मोटरसाइकलमा लिफ्ट मागेको थिएँ नि‘ उसले भनी।
सञ्चो बिसञ्चोको कुराकानी भयो। उसले लिफ्ट दिएकोमा फेरि आभारी प्रकट गरी– तपाईं त कस्तो बुझ्ने मानिस हुनुहुँदो रैछ।
‘सबैलाई समस्या परेको बेला सहयोग गरे राम्रै हुन्छ‘ मैले भनें।
‘साँझतिर तपाईंलाई फुर्सद छ भने भेटौं न‘ उसले प्रस्ताव गरी ‘तपाईंसँग बसेर कफि पिउन मन लागेको छ।‘
ग्यास अभावमा सबै रेष्टुरेन्ष्ट त बन्द छन्। मैले उसलाई टार्न खोजें।
कुन ठाउँमा कफी खाने  मेरो जिम्मा भो, तपाईं टेन्सन नलिनुस्।
साँझ ६ बजेतिर फेरि उसले फोन गरी।
खोइ त कफी खाने भनेको होइन, फोन गर्नुपर्दैन, कति बेला आउने तपार्इँ । म यहाँ दमकल चोकमा कुरिरहेको छु।
म हतारहतार अफिसबाट दमकल चोकतिर लागें।
के छ आरामै हुनुहुन्छ नी ।
कफी कता गएर पिउने त? उसले प्रश्न गरी ।
‘त्यो मेरो चिन्ताको विषय होइन, त्यो तिम्रो जिम्मा हो‘ मैले भने ।
उसले मलाई झम्सिखेलको एक रेष्टुरेन्छभित्र लगी र दुई कप कफी अर्डर गरी।
घर काँ नि तपाईंको? कुरा उसैले सुरी गरी।
‘हेटौंडा‘ मैले भनें।
कहाँ बस्नुहुन्छ ?
एकान्तकुना।
‘ए नजिकैको पो रैछ म पनि पूल्चोकमा नै बस्छु। मेरो घर नै यही छ,‘ उसले भनी।
हिजो तपाईसँग भेट भएको दिन पुतलीसडकमा कसन्ल्ट्यान्सी जादैँ थिए। उच्च शिक्षाका लागि अष्ट्रेलिया जाँदैछु । फाइनल डकुमेन्ट लिन बोलाको थियो। गाडी नपाएको बेला तपाईँसँग भेट भो हगि।‘
‘कहिले जान्छौ अष्ट्रेलिया?‘ उसको कुरा सुनेपछि सोधें।
‘पर्सि‘ उसले भनी।
‘शुभ यात्रा।‘ मैले भने ‘अष्ट्रेलिया पुगेपछि त कसैसँग लिफ्ट माग्नु पर्दैन होला है।‘
उ बेस्सरी हाँसी।
कफिको बिल उसैले तिरी ।
‘तपाईँसँग भेट भएर धेरै खुसी भएँ‘ छुट्टिने बेलामा उसले भनी।
पूल्चोकमा उसलाई छाडेर म आफ्नो डेरातिर लागें।
भोलिपल्ट उसले फोन गरी। सन्चो बिसन्चो सोध्यौं। उसले भनी ‘कफि खुवाउने पालो तपाइँको हो  नि। म भोलि अष्ट्रेलिया जाँदैछु । आज साँझ भेटौं है।‘
मैले नाइँ भन्न सकिनँ।
साँझ हिजैको रेष्टुरेन्टमा भेट्ने कुरा भयो।
आज म भन्दा अगाडि ऊ रेष्टुरेन्टमा पुगेर कफी अर्डर गरिसकेकी रैछ। म केही समय पछि पुगेँ। उसले पहिलेदेखि चिने जसरी कस्तो ढिलो गरेको? भन्दै घुर्क्याउन थाली।
ऊ मसँग निकै नजिकको साथी भएको जसरी मसँग कुरा गर्दै थिई।
तपाईं भन्दा टाढाको सम्बन्ध लाग्छ। म अबदेखि तपाईलाई तिमी भन्छु है माइन्ड नगर्नू। मैले कुनै आपत्ति जनाइनँ। ‘भोलि कतिखेरको फ्लाइट छ‘ मैले प्रसंग बदलें।
राति साढे १० बजे।
ए ल त राम्रोसँग जानू। उता गएर पनि सम्झदै गर्नु मैले भने।
‘उता गए झन बढी सम्झन्छु‘ उसले भनी।
हामी त्यहाँबाट विदावारी भयौं ।
रिमा अष्ट्रेलिया उड्ने दिन बिहान, दिउँसो र साँझ गरी मलाई ६ पटकभन्दा बढी फोन उसले गरिसकेकी थिई। राति १० बजेर १५ मिनेट जादाँ पनि उसले मलाई फोन गरी– ल म प्लेनको सिटमा बसें। एयरपोर्टसम्म विदाइ गर्न आएनौं है भन्दै गुनासो गरी।
उसले फोन गरेको केही बेरमा आकाशमा जहाज उडेको आवाज सुनियो। कोठाको झ्यालका सिसाहरु थरररर काँपे। मैले सोचें–उडिछे मोरी।
***
अष्ट्रेलियाका पुगेको ४ दिनपछि उसले फोन गरी । मैले कत्ति चाँडो फोन गरेको त भन्दै जिस्काएँ। फोन नम्बर साटेपनि फेसबुकमा भने हामी जोडिएका थिएनौं।
उसले फेसबुकमा सर्च गरेको तर नभेट्टाएको गुनासो गरी। मैले इमेल आइडी राखेर सर्च गर्न इमेल आइडी दिएँ।
एकछिनपछि उ तर्सिदै फोन गरी ।
तिमी बिबाहित हो र? मैले त अविवाहित पो  भन्ठानेको? कति बच्चैमा बिहे गरेको तिमीले?
फेसबुक प्रोफाइल तस्बिर हेरेर उसले ती प्रश्न मेरा सामु गरेकी थिइ।
मैले हो भने।
मैले तिमीसँग कति धेरै सपना सजाएकी थिएँ भन्दै उसले फोन राखीदिई। त्यसदिनपछि उसले मलाई न म्यासेज पठाई न फोन नै