मन्त्री पद अस्वीकार गर्दै अष्टलक्ष्मीले भनिन्-भविश्यमा पनि मन्त्री बन्दिँन

Asta-Laxmi-Sakya

काठमाडौं १९ कात्तिक । राजनीतिमा लागेको व्यक्तिले मन्त्री पदको अफर अस्वीकार गर्नु दुर्लभ घटनाजस्तै हो नेपालका लागि । एमाले नेत्री अष्टलक्ष्मी शाक्यले आफूलाई अपवादका रुपमा उभ्याएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्नका लागि गरेको आग्रहलाई शाक्यले विनम्रतापूर्वक अस्वीकार गरिन् । उनले विगतमा आफू दुईपटक मन्त्री भइसकेकाले यसपालि अरुलाई मौका दिन आग्रह गरिन् । ‘मलाई प्रधानमन्त्रीले अफर गर्नुभएको हो,’ शाक्यले अनलाइनखबरसित भनिन्, ‘मैले भनें, पार्टीमा मेरोजति त्याग गरेका अरु साथीहरु पनि हुनुहुन्छ, उहाँहरुलाई मौका दिनोस् ।’

शाक्यले आफ्नो सट्टा श्रीमाया थकालीको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेकी थिइन् । तर, प्रधानमन्त्री ओलीले थकालीको सट्टा शान्ता मानवीलाई मन्त्री बनाए ।

तर, यसमा पनि शाक्यको चित्त दुखाइ छैन । ‘कसलाई मन्त्री बनाउँदा सहज हुन्छ, त्यो प्रधानमन्त्रीले सोच्ने कुरा हो । मैले प्रादेशिक सन्तुलनको हिसाबले श्रीमायालाई लैजाँदा राम्रो हुन्छ भन्ने सुझाव दिएकी थिएँ,’ शाक्यले भनिन् ।

आफू सरकारमा नगए पनि ओली नेतृत्वको सरकारलाई आफूले सक्दो सहयोग गर्ने उनले बताइन् ।

भविश्यमा पनि नबन्ने

शाक्यले भविश्यमा कहिल्यै मन्त्री नबन्ने उद्घोषसमेत गरिन् । ‘पार्टीभित्र लामो संघर्ष र त्याग गर्ने साथीहरुको पंक्ति ठूलो छ । सबैले मौका पाउनुपर्छ, मैले बारम्बार मन्त्री बनेर अरुलाई अवसरबाट वञ्चित गर्नु हुँदैन, त्यसैले अब मन्त्री नबन्ने निर्णय लिएकी हुँ ।’