बाबुरामजीको नयाँ शक्ति पनि तीन चिरा हुनेछ

dinanath sharmaपछिल्लो समय हाम्रो पार्टी विभाजन हुदै आएको छ । केहि समय पहिला बाबुरामजी पार्टी परित्याग गरेर बाहिर जानुभयो । अहिले केही साथीहरुले असहमतिका विषय भन्दै पार्टी कार्यालयमा पत्र दर्ता गराउनुभएको छ । उहाँहरुको आशय बाबुरामजीसँगै जाने नै हो । केहीले छाड्दैमा एमाओवादी विघटन हुने कुरा आउँदैन । संघर्ष, रुपान्तरण र एकताबाट नै हामी यहाँसम्म आइपुगेका हौँ । बाहिर चर्चामा आएजस्तो ४५ जना केन्द्रीय सदस्यले असहमति पत्र बुझाएका होइनन् । एक जना स्थायी समिति सदस्य, ५ जना पोलिटब्यूरो र १६ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन । असहमतिपत्रमा नाम उल्लेख भएका केन्द्रीय सदस्य चिनक कुर्मीले हस्ताक्षर नै गर्नुभएको छैन । त्यसमध्ये केही नेताहरुले पार्टी पुननिर्माणको लागि मात्र हस्ताक्षर गरेको बताएका छन । पाँँच जनाले पहिले नै मौखिक राजीनामा दिएका थिए । उनीहरुलाई कारवाही भइसकेको छ । बाँकीलाई पाँँच दिनभित्र स्पष्टिकरण दिन भनिएको छ । त्यो चित्तबुझ्दो भएन भने उनीहरुमाथि पनि कारवाही हुनेछ ।

बाबुरामजी आत्मकेन्द्रित व्यक्तिवादी बनेको हाम्रो पार्टीको निष्कर्ष छ । राष्ट्र संकटमा परेको र चारैतिरबाट हमला भएको बेला बाबुरामजीले जुन कदम उठाउनुभयो त्यो सरासर गलत छ । जनतालाई धोका भएको छ भने पार्टीप्रति गद्दारी । उहाँ जसरी बाहिरिनुभयो त्यसका पछाडि अरु ठूला शक्ति पनि छन कि भन्ने छ । अर्को कुरा उहाँले जसरी माक्र्सवादलाई नयाँ तरिकाले परिभाषित गर्नुभएको छ । त्यो भनेको माक्र्सवादप्रतिको विचलन हो । पूजीवाद र माक्र्सवादलाई मिसाएर लाने कुरा माक्र्सवादमा सम्वत छैन । पूजीवादमा समाजवाद फल्दैन, सामाज्यवाद फल्छ । तर यसमा बाबुरामजीको विचार स्पष्ट छैन । यसले उहाँ विसर्जनको बाटोमा हिडेको देखिन्छ । उहाँले बाटो विराएर विघटन, विसर्जन र दक्षिणपन्थी बाटो लिएको हो । म बाबुरामजीसँग लामो साथ गरेको मान्छे हुँ । उहाँको माया लाग्छ । उहाँलाई धेरै साथ पनि दिएँ । तर दुःखका साथ भन्नुपर्छ–उहाँले अहिले बाटो बिराउनुभएको छ ।

ढुंगा र पानीको जस्तो एकता भएछ
कम्युनिष्ट पार्टीमा बिडम्बना भन्नुपर्छ । २०४७ सालमा मोहन बिक्रम समुहबाट एकतामा आएका साथीहरु सवै बाबुरामजीसँग फर्कनुभयो । भावनात्मक रुपमा पार्टी एकता भएको रहेनछ भनेर हामीले बुझ्नुपर्छ । पार्टी एकता भनेको त पानीमा रङग मिलाएजस्तो हुनुपर्छ । तर ढुंगामा पानी मिलाएजस्तो पो भएछ । एमाओवादीमा मात्र होइन, यस्तो रोग एमालेपनि पनि देखिन्छ । जसरी एकता भयो । त्यसरी नै बाहिरिनु कम्युनिष्ट पार्टीको लागि राम्रो कुरा होइन । यसको समीक्षा गरिनुपर्छ । पछि आएकाहरु किन फर्के भन्ने विषयको निर्मम ढंगले समीक्षा हुनुपर्छ । एमालेबाट आएका अहिले एमालेमा नै फर्के । आखिर किन एकता हुन सक्दो रहेनछ ?

म त युद्ध खोजेर माओवादीमा गएको हुँ । त्यतिबेला कुनै स्वार्थ थिएन । अहिले पार्टीमा स्वार्थ देखिएको छ । पहिला अन्तबाट आएका साथीहरु परिवर्तनका लागि माओवादी भएका थिए । उनीहरु क्रान्तिकारी नै थिए । तर परिवर्तन रोज्ने साथीहरु पनि रुपमान्तरण नभएको देखियो । परिवर्तनको मेसिनमा हालेर पगाल्न नसक्दा अहिलेसम्म पनि आ–आफ्नै गुट चलेका छन ।

कम्युनिष्ट आन्दोलनमा दुई प्रवृति हावी छन । एउटा एकता–संघर्ष र विघटन– विभाजन अनि विर्सजन तगा अर्को एकता–संघर्ष र रुपान्तरण । २०४७ सालबाट प्रचण्डले एकता संघर्ष र रुपान्तरण गर्दै माओवादी बनाउनुभयो । वर्ग संघर्ष घनिभूत हुँदा सबै एक भयौँ । जब पार्टी सत्ताको नजिक पुग्यो तब विभाजन सुरु भयो । कैयौँ मानिसको बलिदानीबाट आएको पार्टी किन यस्तो अवस्थामा पुग्यो । यसको पनि समिक्षा हुनुपर्छ । सर्वहारा वर्गले क्रान्ति गर्छन तर पछि प्रतिक्रान्ति नेतृत्वबाट हुन्छ । रुस र चीनमा भएको पनि यही हो । हाम्रोमा पनि त्यस्तै देखियो । र बैद्यजी, चन्द्रजी र बाबुरामजीले पार्टी फुटाउनुभयो । पार्टी बिग्रेको छ । यसलाई परिवर्तन गर्नुपर्छ तर विघटन होइन ।

बाबुरामजीले बनाउने भनिएको नयाँ शक्तिपनि विभाजनको रोगबाट मुक्त हुन सक्दैन । त्यहापनि दुई लाइन संघर्ष हुन्छ । स्कूलिङ एउटै हो । भोलि तपाई हामी नै भन्ने छौँ–बाबुरामजीको नयाँ शक्तिपनि तीन चिरा भयो । पार्टी बनाउँदाका जटिलता सवैमा हुन्छन । संगठन बनाउँदा सवैमा समस्या आउँछन । उद्देश्य जे भएपनि बाबुरामजीले परीणाम राम्रो देखाउनुभएको छैन ।

जुन रुपमा साथीहरुले असहमति राख्नुभएको छ । त्यो राम्रो होइन । प्रष्ट रुपमा भनेर पार्टी छाड्नुपर्छ । एमाओवादीमा बसेर नयाँ शक्ति बनाउने कुरा सम्भव छैन । नीति तथा कार्यक्रम जनतासँग राख्दा राम्रो हुन्छ । सर्वहारा पार्टीमा जालझेल राम्रो होइन । जनतामा समेत अन्योल सर्जना भएको छ । कसैलेपनि यस्तो गर्नुहुँदैन । उहाँहरुको लाइन प्रष्ट छ भने विलम्व नगरी राजीनामा दिँदा हुन्छ । उहाँहरु बाबुरामजीको पछि लाग्नुभएको कुरा स्पष्टै छ । अलग्गै भेला गर्ने अनि फुटेका हौँ भन्न नसक्ने कस्तो विडम्बना ।