‘दसैं अघि ग्यास आउँदैन’

काठमाडौं २८ असोज,। दसैंले छोपिसक्यो, प्राय उपभोक्ताका भान्सामा खाना पकाउने एलपी ग्यास छैन। अधिकांश सिलिन्डर रित्ता छन्, भरूँ त बजारमा पनि पाइँदैन। भारतीय नाकाबन्दीले बजारमा पेट्रोल मात्र होइन, ग्यासको पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन्। विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।

राजधानीका उपभोक्ताले कहिले पाउँछन् त ग्यास?

व्यवसायी भन्छन्– दसैंअघि सम्भव छैन।

नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो। वीरगन्ज भन्सार अझै खुलेको छैन। खुलेपछि पनि राजधानी ल्याएर उपभोक्ताका भान्सामा ग्यास पुर्यााउन कम्तीमा एक साता लाग्ने छ।

‘राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज भन्सार अहिलेसम्म नखुलेकैले ग्यास आउन नसकेको हो,’ संघका उपाध्यक्ष कुश मल्लीले नागरिकसँग भने, ‘खुलेपछि पनि राजधानी ल्याएर वितरण गर्न कम्तीमा एक साता लाग्छ।’

दसैंअघि नाका खुलेर ग्यास राजधानी भित्रिए पनि ग्यास उपभोक्ताले दसैंलाई नपाउने उनले प्रस्ट पारे। ‘पेट्रोल, डिजेलजस्तो सिधै वितरण गर्न मिल्दैन, आइहाले पनि सम्बन्धित कम्पनीमा पठाउँदा र सिलिन्डर भरेर डिपोमा पुग्दा एक साता बित्छ,’ उनले भने।

देशका विभिन्न भागमा अन्य नाकाबाट ग्यास भित्रिए पनि काठमाडौं आउने ६० प्रतिशत ग्यास भारतको बरौनी रिफिलिर कम्पनीबाट ल्याइन्छ। बरौनी वीरगन्ज (रक्सौल) नाकाबाट नजिक रहेकाले अन्यत्रबाट ग्यास ल्याउन नसकिने अवस्था मल्लीले औंल्याए।

‘भरेर तयारी अवस्थामा राखिएका ग्यासका बुलेट सबै वीरगन्ज नाकामै छन्, सरकारले पहल गरे मात्र सम्भव छ,’ उनले भने। त्यही बुलेट सरकारले भाडा दिएर भैरहवा नाकाबाट भने ल्याउन सकिने उनले विकल्प सुझाए।

दसैंजस्तो चाडमा धेरै परिकार पकाउनुपर्ने र पाहुना पनि धेरै आउने भएकाले सामान्य दिनभन्दा धेरै इन्धन चाहिन्छ। कतिपय सर्वसाधारण र होटल व्यवसायी ग्यास सकिएर दाउराको भर परिसकेका छन्। कतिका घरमा साता/दुई सातादेखि ग्यास सकिइसकेको छ भने कतिपयको दसैंअगावै ग्यास सकिने अवस्था छ।