काठमाडाैं, २७ असाेज ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ संविधान निर्माण र सरकार गठनसँगै नेपालमा रहेका कम्युनिष्ट पार्टीहरुबीचको एकताको आधार तयार भएको बताएका छन । आफ्नै निवास लाजिम्पाटमा युवा संघ नेपालका पदाधिकारीहरुसँगको छलफलमा प्रचण्डले भने ‘जनताविरोधी शक्तिहरुले अवरोध सिर्जना गर्न खोजेका थिए । त्यसलाई चिर्न सफल भएका छौँ । कम्युनिष्टहरु एक हुँदामात्र जनता र राष्ट्रविरोधीहरुलाई ठेगान लगाउन सकिन्छ । र मुलुक निर्माण पनि सम्भव हुन्छ ।’
एमाले र एमाओवादीका हरेक तप्कामा कम्युनिष्ट एकतासम्बन्धि बहस चलाउनुपर्ने आवश्यकता समेत प्रचण्डले औल्याएको युवा संघ नेपालका सचिव माधव बास्तोलाले नेपालपाटी डट कमलाई जानकारी दिए । ‘म, केपी ओली, माधव नेपाल, झलनाथ खनालले मात्र एकताको कुरा गरेर हुँदैन’ प्रचण्डको भनाई उदृत गर्दै वास्तोलाले भने ‘तपाईहरुले थाल्नुभएको अभियानलाई तल्लो तहबाट सशक्त ढंगले अगाडि बढाउनुहोस, सफलताको शुभकामना छ ।’ युवा संघको अध्यक्षमा निर्वाचित भएकोमा पहारीलाई प्रचण्डले बधाई समेत दिएका छन । उनले वाइसीएललाई पनि सँगै लिएर अगाडि बढ्न पहारीलाई आग्रह पनि गरे । ‘युवा संघ र वाइसीएल मिलेर जानुपर्छ’ प्रचण्डले भने ‘पहारीजी युवा संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ, कम्युनिष्ट पार्टीको एकता अभियानमा वाइसीएललाई पनि सँगै लिएर अगाडि बढ्नुहोस ।’ संघले प्रचण्डलाई बिहीबार आयोजित चियापानको निम्तो समेत दिएको छ ।
जवाफमा प्रचण्डले चियापान कार्यक्रममा आफू उपस्थिति हुने बताएका छन । भेटघाट कार्यक्रममा संघका अध्यक्ष पहारीले संविधान कार्यान्वयन गर्न र मुलुकको समृद्धिका लागि कम्युनिष्टहरुको एकता आवश्यक भएको भन्दै पहलकदमीको नेतृत्व लिन प्रचण्डसमक्ष आग्रह गरेका थिए । प्रचण्डसँगको छलफलमा अध्यक्ष पहारी, महासचिव किरण पौडेललगायत संघका नेताहरु लाजिम्पाट पुगेका थिए ।






