८ सदस्यीय ओली मन्त्रिमण्डल यस्तो छ

Pm_kp-काठमाडौं, २५  असोज । 
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भोट दिएका एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेतालाई सहभागी गराएर ८ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।

नवनिर्वाचित प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह पद तथा गोपनियताको सपथ खानुपहिले ८ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका हुन्। ८ सदस्यीय मन्त्रीपरिषद्मा २ जना उपप्रधानमन्त्री तथा पाँच जना मन्त्री छन्।

प्रधानमन्त्री ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन्। गच्छदार दोस्रो पटक उपप्रधानमन्त्री नियुक्त भएका हुन् भने पञ्चायतकाल र बहुदलकालमा पटक पटक सत्ताको स्वाद चाखेका राप्रपा नेपालका अध्यक्ष थापाले भने पहिलो पटक उपप्रधानमन्त्री बन्ने अवसर पाएका हुन्।

पहिलो संविधानसभादेखि नै गणतन्त्रको चर्को विरोध गर्दै आएका राप्रपा नेपालका अध्यक्ष थापाले उपप्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ खाएर गणतन्त्र स्वीकार गरेका हुन्। थापालाई परराष्ट्र तथा गच्छदारलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री ओलीले ८ सदस्यीय मन्त्रीपरिषद्मा आफ्ना पार्टीका अग्नीप्रसाद खरेल, सोमप्रसाद पाण्डे र सत्यनारायण मण्डल, एमाओवादीका हरिबोल गजुरेल र राप्रपा नेपालका रामकुमार सुब्बालाई मन्त्री नियुक्त गरेका छन्। मन्त्रीमा नियुक्त खरेल र मण्डल ओली निकट मानिन्छन् भने पाण्डे पार्टी नेता माधवकुमार नेपालका सम्धी हुन्।

खरेललाई कानून, पाण्डेलाई उद्योग र गजुरेललाई कृषि विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रालयको भागबण्डाका विषयमा नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालबीच छलफल हुन बाँकि रहेकाले नवनियुक्त मन्त्रीद्वय मण्डल र सुब्बालाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन।

नेकपा एमालेले प्रधानमन्त्री ओलीले अन्य दलहरुसँग छलफल गरेर मन्त्रालयको टुंगो लगाइ मन्त्रीपरिषद् विस्तार गर्ने बताएको छ। मन्त्रालयको बाँडफाँट गर्न बाँकि रहेकै कारण प्रधानमन्त्री ओलीले पार्टीका तर्फबाट कसैलाई पनि उपप्रधानमन्त्री नियुक्त नगरेका हुन्। एमालेका तर्फबाट उपाध्यक्ष भीम रावललाई उपप्रधानमन्त्री बनाउने चर्चा थियो।

  • प्रधानमन्त्री- केपी शर्मा ओली
  • उपप्रधान तथा परराष्ट्र मन्त्री -कमल थापा
  • उपप्रधान तथा भौतिक योजना र यातायात मन्त्री -विजयकुमार गच्छदार
  • कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री -अग्नी खरेल
  • उद्योग मन्त्री – सोमप्रसाद पाण्डे
  • कृषि मन्त्री -हरिबोल गजुरेल
  • विनाविभागीय मन्त्री -सत्यनारायण मण्डल
  • बिना विभागीय मन्त्री – रामकुमार सुब्बा