केपी ओली प्रधानमन्त्रीमा निर्वाचित

KP-oli-650काठमाडौं २४ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। आज संसदमा भएको निर्वाचनमा ५ सय ८७ मतमध्ये ३ सय ३८ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। प्रधानमन्त्रीका अर्का प्रत्याशी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले २ सय ४९ मत ल्याएका छन्।

ओलीलाई नेकपा एमालेसँगै एकीकृत नेकपा माओवादी,राप्रपा नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक,राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका पार्टीका सांसदहरुले मतदान गरेका थिए।

तराई मधेशमा आन्दोलनरत दलहरुले भने ओलीको विपक्षमा मतदान गरे। उनीहरुले ओलीको गठबन्धन मधेश विरोधी भएको आरोप लगाएर सुशील कोइरालालाई मत दिएका हुन्।

ओलीको बायोडाटा
के.पी. शर्मा (ओली)
जन्मः वि.सं. २००८ फागुन ११ शनिबार।
जन्मस्थानः इवा २, तेह्रथुम, नेपाल।
बाबुआमाः मोहनप्रसाद ओली/मधु ओली।
वैवाहिक अवस्थाः विवाहित।
श्रीमतीः राधिका शाक्य।

राजनीतिक यात्राः
२०२३ सालः मार्क्सवादी अध्ययन दलमा संगठित।
०२५ सालः तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध।
२०२६ सालः नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त।
२०२६ सालः तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उप–सचिव।
२०२७ वैशाखः तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण।
२०२८ वैशाखः तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग।
२०२९ सालः तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुख।

जेल जीवन
२०२७ फागुन १६ : झापाबाट गिरफ्तार।
२०३० सालदेखि २०४४ सालः जेल जीवन
२०४४ असार ११: भद्रगोल जेलबाट रिहा।
तत्कालीन राजा ज्ञानेन्द्रले चालेको ०५८ माघ १९ को ‘कू’ सँगै नजरबन्दी।

जेलमुक्त भएपछि
२०४४ पुस २ : तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी।
२०४६ : तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी।
२०४७ जेठ १ : तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष।
२०४९ देखि २०७१ असारः नेकपा (एमाले) स्थायी कमिटी सदस्य।

आन्दोलन तथा विचारधारा निर्माण
२०२७ सालः झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी भित्र हतियारबद्ध संघर्ष गर्ने वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने सवालको बहसमा शान्तिपूर्ण संघर्षको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखेका। फरक मत राखेरै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएको।
२०३० सालदेखि २०४४ सालः जेल जीवन।
२०४६ : जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेको।
२०४९ : नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय माहाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादी कार्यक्रम निर्माणमा मदन भण्डारीलाई सहयोग।
२०५९ : नेकपा (एमाले) को सातौँ राष्ट्रिय महाधिवेशनमा कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा वैचारिक प्रस्ताव।

राज्यतहमा जिम्मेवारी
२०४८ : आमनिर्वाचनमा झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित।
२०५१ : मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित।
२०५१ मंसीर १४ : नेपालको पहिलो कम्युनिस्ट सरकारमा गृहमन्त्री।
२०५६ : आमनिर्वाचनमा झापा क्षेत्र नम्बर २ र ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित। नेकपा (एमाले) दलको उपनेता चयन।
२०६३ जेठः मन्त्रिपरिषद्मा उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री।
२०७० मंसीरः संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट संविधानसभा सदस्य निर्वाचित।
२०७२ असोज २४: नेपालको प्रधानमन्त्री निर्वाचित।