काठमाडौं, १९ असोज । गैरआवासीय नेपाली संघ (एनअारएन) ले नेपालका भूकम्पपिडीतका लागि ३५ करोड रुपैयाँ बराबरका घर बनाइदिने भएकाे छ । भूकम्पबाट क्षतिग्रस्त पाँचवटा जिल्लामा उक्त मूल्यका एक हजार स्थायी निजी आवास बनाइदिने भएकाे हाे । अावास निर्माणका लागि नेपाल सरकारले लाई अनुमति दिइसकेकाे छ ।
घर निर्माणस्थल सरकारले पछि तोक्ने बताएको छ । संघले मन्त्रालयले स्वीकृति प्रदान गरेको डिजाइनअनुसार भूकम्प प्रतिरोधक, वातावरण तथा स्थानीय संस्कृतिमैत्री घर निर्माण गर्नुपर्ने बिभागले जनाएको छ ।
गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पपछि तिब्रताका साथ राहत वितरण अभियानमा संलग्न भएको संघले सोही बखत ३५ करोड रुपैयाँको लागतमा एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । पिडीतलाइ राहत दिन पैसा जम्मा गरेर सरकारबाट अनुमतिका लागि कुरेर बसिरहेकाे समयमा सरकारले अनुमति दिएपछि अव अब तुरुन्तै फिल्डमा गएर निर्माण थालिहाल्ने संघका अध्यक्ष शेष घलेले बताए ।
संघले यसका लागि अनुमान गरेको ३५ करोड रुपैयाँ मध्ये अधिकांश रकम जम्मा भइसकेको छ । संघको आह्वानअनुरुप बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले रकम संकलन गरी गैरआवासीय नेपाली संघको खातामा पठाइसकेका छन् ।
संघका अध्यक्ष घलेले एकीकृत नमुना बस्तीका रुपमा गाउँमा पुनर्निर्माण गरिने बताए । ‘स्थानीय संस्कृति झल्किने भूकम्प प्रतिरोध र आधुनिक घर निर्माण गर्ने तयारी गरिरहेका छौं,’ अध्यक्ष घलेले भने, ‘नमुना बस्तीमा अन्य पूर्वाधार निर्माणका लागि अन्य संस्थासँग पनि सहकार्य हुन सक्छ ।’
गैरआवासीय नेपाली संघको सातौं अधिवेशन यही अक्टुवर १४ तारिखबाट काठमाडौंमा सुरु हुँदै छ । ‘एनआरएनः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ नारा तय गरेको संघले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।






