म यतिबेला तिम्रो दिल्लीको एउटा कुनामा बसेर यो पत्र लेख्दै छु । थाहा छैन, तिमीसँग मेरो यो पत्र पढ्ने फुर्सद हुने छ या छैन । मलाई यो पनि थाहा छैन, तिमीसँग मेरो पत्र पुग्ने छ या छैन ? तिमी ब्यस्त छौ । तिमीलाई संसार जित्नु छ । त्यसैले आज पनि तिमी उसै गरी न्युयोर्कमा विशाल मानव सागरको बीचमा गर्जिरहेछौ,“भाईओ ओर बेहेनो”।
डियर मोदी, म आज यो पत्र लेखिरहँदा प्रेमिकाले धोका दिएर एक्लो बनेको प्रेमी जस्तै निसास्सिएको छु । म केहि दिनदेखि छट्पटाइरहेको छु । बेचैन छु । यस्तो लाग्दैछ कि, म भित्र एउटा आँधी चलिरहेछ । बिस्फोट हुनको लागि ज्वालामुखी पहाड चिर्दै छ ।
मैले धेरै सोचेँ, तिमीसँग के भनेर गुनासो पोखुँ ? रिसले आँखा बन्द गरेर गाली मात्रै ओकेलुँ, या हात जोडेर बिन्ती बिसाउँ ? तर अफसोच, म दुबै कुरामा नाकाम रहेँ । तिमीसँग दयाको भिख मागेर गिडगिडाउन मेरो स्वाभिमानले दिएन । तिमीसँग झगडा गरेर आक्रोस ओकेल्नको लागि म सँग कुनै आक्रोस थिएन । मैले आजमात्रै महसुस गरेँ, आफुले सम्मान गरेको मान्छेले धोका दियो भने ‘आक्रोस’ होईन, ‘पीडा’ हुँदो रैछ । म आज त्यहिं पीडाले रन्थनिएको छु ।
म नब्बेको दशकमा जन्मिएको हुँ । नेपालको कुनै बिकट गाउँमा । जतिबेला म दुनियाँ बुज्न थालेँ, देशमा माओवादीले युद्द छेंडिसकेको थियो । कुनै एक बिहान थियो, मैले पढ्ने स्कुलको सेतो भित्तामा रातो रँगले एउटा नारा लेखिएको थियो, “भारतीय विस्तारवाद मुर्दावाद’’ । त्यतिबेला मेरो कलिलो मस्तिष्कले त्यती ठूलो कुरा बुझ्न संभव थिएन । अझ, त्यसपछि पनि मैले कहिल्यै त्यसको अर्थ बुज्न सकिन र बुझ्ने चेष्टा पनि गरिन । घरमा पैतालिस साले नाकाबन्दीका बहस हुने गर्थे तर म त्यसको पनि हिस्सा बन्न सकिनँ । त्यतीबेला रेडियो नेपाल र बिबिसी निर्बिकल्प सञ्चारको माध्यम थिए । मैले दश कक्षा पास हुँदासम्म रेडियो नेपालको हिन्दी समाचार र हिन्दी बिबिसीको सर्ट वेभ प्रसारणबाट राम्रोसँग हिन्दी बोल्ने र बुझ्ने भैसकेको थिएँ ।
स्कुल पढ्दादेखि नै महात्मा गान्धी मेरो लागी आदर्श पुरुष थिए । स्कुल पढ्दा मैले धेरै पढ्ने पाठ महात्मा गान्धीको जीवनी र भारतको स्वतन्त्रता आन्दोलन थियो । नेहरु र गान्धीसँगै स्वतन्त्रताको लागि लडेका मेरा हजुरबुवाहरुले सुनाउने ती किस्साहरु मलाई हरेक पल्ट रोचक र नयाँ लाग्थे । यस्तो लाग्थ्यो म गान्धी सँगै एउटै सुकुलमा बसेर उनले काटेको चर्खा मेरा मसिना हातले डल्लो पारिरहेको छु ।
मैले जतिबेला घरमा केहि चाईनिज सामान किनेर ल्याउँथे । त्यो बेला मेरो आमासँग झगडा पथ्र्यो । उहाँ जहिले पनि भारतीय सामानको पक्षमा हुनुहुन्थ्यो । आमाको नजरमा भारतीय सामान गुणस्तरीय थियो । यसर्थ पनि मैले सानैदेखि भारत ‘गान्धी’ र ‘गुणस्तरको’ देश भनेर बुझेँ ।
संयोग भन्नुपर्छ, सन् २०११ मा म आफ्नो अध्ययनको लागि दिल्ली आइपुगेँ । गर्मीको बेला थियो । पहाडको चिसो पानी पिएर हुर्किएको केटो दिल्लीमा सजिलो थिएन । मैले यहाँ चिनेको कोही थिएन । नेपाल छोड्दै गर्दा मलाई केहि मान्छेहरुले भनेका थिए,“तिमी पहिलो पल्ट जाँदै छौ । दिल्ली धेरै ठगहरुको पनि शहर हो । तिमीलाई लुट्न पनि सक्छन । आफ्नो ख्याल गर्नु ।’’ तर अचम्म, म भित्र एउटा अदभुत विस्वास थियो । मलाई दिल्ली आफ्नो लाग्थ्यो । नेहरु र गान्धीको शहर लाग्थ्यो । यसर्थ, दिल्ली आफैँमा मेरो आदर्श बनेको थियो ।
समय बित्दै गयो । म सिए बन्ने दौडमा व्यस्त भएपनि भारतीय राजनीति र बिभिन्न घटनाक्रम मेरो लागि चासोको बिषय बन्दै गए । २०१३ को लोकसभा चुनाव मेरो लागि भारतीय राजनीति बुझ्ने कोशेढुङ्गा बन्यो । हो, त्यहिँ बेला मेरो आदर्शको अर्को पुरुषले भारतमा जन्म लिएको थियो । “डियर मोदी, त्यो तिमी थियौ” ।
तिमीलाई भारत जित्नु थियो । गुजरात पुगेर तिम्रो नेतृत्व क्षमता देखेको मैले तिम्रो जीतमा आफ्नो जीत देख्न थालेको थिएँ । नेतृत्वको अभावले दिशाहिन बनेको नेपाली राजनीति देखेर दिल्ली आएको मैले तिमी जस्तै सक्षम नेतृत्वको कल्पना गर्न थालेको थिएँ । म तिम्रो भाषण सुन्न कैयौँ पल्ट दिल्लीका तिम्रा ¥यालीहरुमा पुगेको छु । मोदी सरकारको नारा लगाएको छु । तिम्रो प्रचारमा फालिएका पर्चाहरु जम्मा गरेर कोठामा राखेको छु । जतिबेला तिमी चुनाव जितेर भारतको प्रधानमन्त्री बन्यौ र नेपालको संविधान सभामा मन्तव्य दियौ । मेरो सम्मानले आकास छोयो । मैले दिल्लीकै कुनै कार्यक्रममा तिम्रो भाषणमा तिम्रै सहकर्मीहरुसँग बसेर बहस गरेँ । उनीहरुलाई बधाई र धन्यबाद दिएँ । मलाई लाग्यो साँच्चिकै नेपाल र भारतको सम्बन्धको डोरी कहिले र कसैले चुडाल्न सक्ने छैन ।
तर ठूलो बिडम्वना ! तिम्रो त्यो भाइचारा र बन्धुत्व आज ‘कस्मेटिक’ देखियो । सम्बन्धको ‘कँसिलो डोरी’ तिमी आफैले चुँडाल्यौ । सम्बन्ध मात्रै टुटेको भए त फेरि सजिलोसँग जोड्न सकिन्थ्यो होला । तर आज विश्वास टुटेको छ । डियर मोदी, म त प्रतिनिधि पात्र मात्रै हुँ । म जस्ता लाखौँ नेपाली युवाहरुको विश्वास तोडिएको छ । सायद त्यो विश्वास फिर्ता गर्न अवको आधा शताब्दी पनि काफी हुने छैन ।
आज दिउँसो मेलाबाट फर्किएर घाँसको भारी भुईँमा फालेर आमले फोन गर्नुभयो । “छोरा, मैले नुन किनेकी थिईन । मोदीले नाकाबन्दी गर्दिए भन्छन । तँ त दिल्ली मै छस । एकपल्ट उनलाई भन्दे न नाका खोल्न भनेर ।’’ म अवाक भएँ । मैले मेरी आमालाई कसरी सम्झाउँ कि मोदीले मेरो त धेरै परको कुरा करोडौँ नेपालीको पीडा र आक्रोश केहि सुनेका छैनन भनेर । मैले कसरी भनुँ कि ’बडे भाई’ हुनुको अहंतामा कानमा तेल हालेर अमेरिका तिर घुम्दै छन भनेर । मैले मुटु गर्हौँ पारेर भने ,“भैँसीलाई खुवाउन ल्याएको ढिक्का नुन भए पनि खानुहोला । यतिबेला देश पीडामा छ ।’’
हामी भर्खर परिवर्तनको सपना देख्न लागेका थियौँ । आफ्नो भविश्य आफैँ कोरेका थियौँ । बर्षौँको चरम निराशा र अन्योलताबाट बहिर निस्किन बल गर्दै थियौँ । यो बेला तिमीले हामीलाई हौसला दिन सक्नुपथ्र्यो । आन्तरिक विवाद भए विस्तारै मिल्दै जान्छन, अहिले पाएको उपलब्धिलाई संस्थागत गर भनेर सुझाव दिनुपथ्र्यो । संविधानमा चित्त दुखाएकाहरुलाई क्रमशः मिलाउँदै जाउ भनेर हिम्मत दिन सक्नुपथ्र्यो । तर तिमी आफ्नो ‘भाग’ नपाएको बहानामा हाम्रो भावनामाथि खेल्यौ । सुत्केरीहरु गाडी नपाएर सडकमा बच्चाहरु रुहाउँदै हिँडेका छन । ईन्धनको अभावमा अव कती चुला बल्न बन्द हुनेछन । भूकम्पले अताल्लिएका नेपालीहरुलाई धेरै ठूलो उपहार दियौ । यसलाई हामीले सधैभरी सम्झिरहने छौँ ।
डियर मोदी, तिमीसँग हामी आभारी छौँ । किनकी तिमीले हाम्रो ‘हैसियत’ देखाईदियौ । म बिना तिमीहरु बाँच्न सक्दैनौ भनेर प्रमाण पेश गर्यौ । शायद तिमीलाई यसमा गर्व पनि होला । तर हामीलाई पीडा भएको छ, आजसम्म तिमीलाई आँखा बन्द गरेर विश्वास गरेकोमा । हामी आफैले उत्पादन गरेर बलियो बन्न सक्नुपथ्र्यो । चीनसँग पनि बराबर सम्बन्ध बनाउनुपथ्र्यो । ब्यापारको लागि आवश्यक तयारी गर्नुपथ्र्यो । बाटाहरु फराकिला पार्नुपथ्र्यो । तिमीलाई मौका मिल्यो, भूकम्पले गर्दा खुल्न नसकेका नाकाहरु तिम्रो लागि हतियार बने । तर थाहा छ तिमीले हाम्रो पीडामाथि राजनीति ग¥यौ । हामी यि गल्तीहरुबाट अव पक्का पाठ सिक्ने छौँ । ढुक्क हुनु, गिड्गिडाएर दयाको भिख माग्ने छैनौँ । हामी भोकै बस्ने छौँ तर आत्मा बेच्ने छैनौँ । पैतालामा ठेला पारेर भए पनि उकाली ओराली गर्ने छौँ तर स्वाभिमान गुमाउने छैनौँ । हामी ती गोर्खालीका सन्तान हौँ जसको प्रंससा ‘झुठो’ नै भए पनि तिमी आफै गर्ने गथ्र्यौ ।
तिमीले जसको लागि भनेर यो नाका बन्दी गरेर ‘सहयोग’ गर्यौ, उनीहरुलाई पनि धोका दिँदै छौ । उनीहरुको जायज मागमा पहिले नेपालमा धेरैको सहानुभुती थियो । धेरैको साथ थियो । तर तिम्रो नाकाबन्दीले आज उनीहरु त्यो साथ गुमाउँदै छन । अझ ठूलो अविश्वास पैदा हुँदै छ । आन्दोलन गर्ने हाम्रा दाजुभाई थिए । ढिलो चाँडो हामी आफै मिलाउन सक्ने थियौँ । तर तिमीले सम्बन्धलाई टुक्राउने काम गर्यौ । दाजुभाईमा तिक्तता निम्त्याउने काम गर्यौ । तत्कालका लागि तिमीलाई यस्ले आफ्नो स्वार्थ पुरा गर्न त सहयोग गर्ला । तर जव उनीहरुले यो ‘धोका’ थाहा पाउने छन त्यो बेला पुरै नेपाल तिमीलाई धिक्कारिरहेको हुनेछ । डियर मोदी, तिमीले आफैँले भोगेको श्रीलङकाबाट पनि पाठ सिक्न सकेनौ ।
आज म बजारमा हिँडिरहँदा आफूलाई ‘एलियन’ जस्तो लाग्यो । पहिलो पल्ट मलाई दिल्ली पराई लाग्यो । म त्यो ठाउँमा बसिरहेछु जहाँबाट मेरो आमाले नुन खान नपाउने अवस्थाको सृजना गरिएको छ । मेरा आदर्शका गान्धी आज मलाई नै ‘भुत’ बनेर तर्साइरहेछन ।
म मात्रै होईन, अव सियाचिनमा बसेर भारतको लागि लडेका नेपालीहरु आफ्नो हातको बन्दुक हेरेर आफैलाई धिक्कार्न थाल्ने छन । सडकमा चौकिदारी गरेर लाठीबजाउँदै हिंड्ने नेपालीहरु पीडा र आक्रोसमा बर्बराउन थाल्ने छन । आफ्नो सन्तान रुवाएर मालिकको बफादार हुन सक्दैन, डियर मोदी!
पछिल्लो समय म हातमा सिएको डिग्री बोकेर भारतका ठूला कम्पनीहरुमा लाखौँको प्याकेजको सपना बुन्दै थिएँ । विश्व एक भएको बेला जहाँ बसेर काम गरेपपनि फरक नपर्ने अरुलाई सुझाव बाँढ्दै हिँडेको थिएँ । तर आज मेरो मन मरेको छ । घरमा आमालाई भोकै राखेर मैले यहाँ कमाएको पैसाको के महत्व ? म मेरै देश फर्किँदै छु । बरु यी नंग्रा खियाउने छु । हजुर बुवाले पहाड फोडेर बनाएका बाँझा बारीहरुमा आफैँ हलो लगाउने छु । आफ्नै देशमा उत्पादन बढाउनुपर्छ भन्ने चेतना बोकेर हिड्ने छु । आफ्नै देशमा फ्याक्ट्री लगाउने छु । ढ्ल्मलाएको राजनीति नेतृत्वलाई टेका बनेर उभिने छु । कुनै दिन फेरि पुरानै स्वाभिमान बोकेर गर्जनेछु, ‘‘हामी आत्मनिर्भर छाँै” । तिमीलाई भ्रम नहोस, ‘म’ केवल म मात्रै हैन । ‘म’ लाखौँ नेपाली युवाहरुको प्रतिबिम्ब हो । यो विश्वभर नेपालको उदाउँदो भविश्य लिएर बांचिरहेछन ।
डियर मोदी,जाँदा जाँदै तिम्रो ‘मेड ईन ईन्डियाको’ र आसन्न ’बिहार चुनावको’ शुभकामना ।
प्रवेश आचार्य
सिए फाईनल, दिल्ली






