अाजदेखि नेपालमा हिन्दी फिल्म र च्यानल बन्द

काठमाडाैं, १२ असोज  । भारतले नाकाबन्दी गरेपछि त्यसको विरोधमा अाजदेखि नेपालमा हिन्दी फिल्म र टेलिभिजन बन्द हुने भएका छन् । अाज नेत्रविक्रक चन्द्र विप्लव नेतृत्वको नेकपा माओवादीले भारतले नेपालमाथि हस्तक्षेप गरेको भन्दै हिन्दी फिल्म र च्यानल बन्द गर्न आग्रह गरेपछि केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनले देशभर हिन्दी च्यानल बन्द गर्ने भएका हुन् ।

अाज मंगलबार बिहान १० बजेदेखि हिन्दी च्यानल बन्द गर्ने केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले  निर्णय गरेको हो ।   संघका अध्यक्ष सुशील पराजुलीले राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको जनाकारी दिए ।
यता हल संचालकहरु पनि हिन्दी फिल्म रोक्न सहमत देखिएका छन् । गोपीकृष्ण मुभिजले सोमबारदेखि लागु हुने गरेर हिन्दी फिल्मको शो बन्द गर्ने जनाइसकेको छ ।  गोपीकृष्ण मुभिजमा ’कट्टी बट्टी’ नामक हिन्दी फिल्म चलिरहेको छ ।
मन्टिप्लेक्स हलहरुले नेपाल चलचित्र संघको निर्णय अनुसार हिन्दी फिल्महरु रोक्न सकिन्ने जानकारी जनाएका छन् ।
यसअघि विप्लव नेतृत्वको नेकपा माओवादीले भारतले नेपाललाई गरेको अघोषित नाकाबन्दी विरुद्ध नेकपा माओवादीले आन्दोलन घोषणा गरेको थियो ।  नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका गरेका थिए ।
नेकपा माओवादीले सोमबारबाट नेपालभित्र भारतीय नम्बर प्लेटको गाडी चल्न रोक लगाउने, भारतीय चलचित्र र विज्ञापन बन्द गर्ने, भारतीय टेलिभिजन च्यानलमा रोक लगाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो  ।