रसुवागढी नाका दसैंअघि नै खुलाउने तत्परता, यस्तो छ नाका क्षेत्र (भिडियो)
रसुवा, असोज ८ । सरकारले गत वैशाख १२ को भूकम्पपछि अवरुद्ध बनेको रसुवागढीस्थित नाका खुलाउन सरकारले औपचारिकरुपमा पहल थालेकोमा रसुवा उद्योग वाणिज्य संघ, निजी क्षेत्र तथा कन्टेनर व्यवसायीहरुले स्वागत गरेका छन् ।
प्रदेश सीमांकनमा असन्तुष्ट राजनीतिक दल तथा समूहले तराई–मधेसमा आन्दोलन चर्काउँदै लैजाँदा दक्षिणी भारतीय सीमानाकामा अवरोध बढ्न थालेपछि रसुवगढी नाका खुलाउन उच्च तहबाटै चासो देखाइएपछि संघ तथा निजी क्षेत्रले स्वागत गरेका हुन् ।
प्रमुख चाडपर्व नजिकिएकाले दसैंअघि नै सन्चालनमा ल्याउने गरी रसुवागढी नाकालाई प्राथमिकतामा राखेर वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनसँग कुटनीतिक प्रयास गरेको बताइएको छ ।
वर्षातको समय र भूकम्पले बिगारेको सडकको ममर्त भइसकेकाले यातायात सन्चालनमा कुनै कठिनाइ नभएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।






