नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहमतिलाई फरक मत राखेरै माघ ८ मै संविधान जारी गर्न आग्रह गर्नुभएको छ । नेकपा(एमाले) पर्वतको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता नेपालले असहमतिका बुँदाहरुमा फरक मत राखेर संविधान जारी गर्न एमाओवादी र मधेसवादी दललाई आग्रह गर्नुभएको हो ।
संविधान निर्माणका क्रममा सबै पक्षका मागहरुमा सहमति कायम नहुने भएकाले आफ्ना मागहरुलाई फरक मतमा दर्ज गरेर संविधानमा सहमति कायम गर्नुपर्ने धारणा नेता नेपालको छ । एमालेले २०४७ सालको संविधानमा फरक मत राखेर संविधान जारी गर्न सहयोगी बनेको बताउँदै एमाओवादीलाई पनि त्यही बाटो अपनाउन आग्रह गर्नुभयो ।
उहाँले सबै दल र पक्षसँग छलफल भैरहेका कारण माघ ८ मै संविधान जारी गर्न सहमति कायम हुने विश्वास व्यक्त गर्नुभयो । एमालेले सङ्घीयतासहितको लोकतान्त्रिक संविधान निर्माण गर्न चाहेको बताउँदै जातीयताका आधारमा मुलुक विभाजित हुने गरी संविधान गरी गर्न नसकिने स्पष्ट पार्नुभयो ।
एमाले पर्वतको अधिवेशन सुरु






