म्याग्दी, २७ भदौ । खिवाङ समाज युकेले भूकम्पमा परी भौतिक संरचनामा क्षति पुगेको काठमाडौँको गिरिजाप्रसाद कोइराला मेमोरियल क्याम्पसलाई रु आठ लाख २० हजार सहयोग प्रदान गरेको छ । म्याग्दीको घार गाविसस्थित खिवाङ गाउँबाट रोजगारका सिलसिलामा बेलायत गई बसेका म्याग्देलीहरुको पहलमा उक्त रकम सङ्कलन गरिएको हो ।
क्याम्पसमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष युवराज गर्बुजा र समन्वयकर्ता घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले सभासद् गगन थापामार्फत क्याम्पस प्रमुख खिलानाथ सापकोटालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
“भूकम्पले आहत क्याम्पसलाई यहाँहरुले दिनुभएको सहयोगले केही हौसला मिलेको छ, उक्त रकमको सदुपयोग हुनुपर्छ,” उहाँले भन्नुभयो – “त्यसपछि थप सहयोग माग्न पनि सजिलो हुन्छ ।” चाबहिलमा अवस्थित उक्त क्याम्पसका भवनहरु भूकम्पले भत्कने अवस्थामा पुगेपछि अहिले अर्को स्थानबाट पठनपाठन हुँदै आएको छ ।
सभासद् थापाले भूकम्पले क्षतिग्रस्त देशभरका दुईसय विद्यालयमा आफ्नो नेतृत्वमा सहयोग र पुनःनिर्माणको काम भएको बताउनुभयो । क्याम्पसले पठनपाठनलाई व्यवस्थित बनाउन निर्माण गर्न लागेका सुविधासम्पन्न १० कोठे भवनमा उक्त सहयोग उपयोग गरिने बताइएको छ ।
समाजका अध्यक्ष गर्बुजाले बेलायतमा व्यक्तिगत र विभिन्न किसिमका कार्यक्रम आयोजना गरेर उक्त रकम सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार, राहत सङ्कलन अभियानका क्रममा नेपालीले एकदेखि एक हजार पाउन्डसम्म सहयोग गरेका थिए । क्याम्पस प्रमुख सापकोटाले भूकम्पले थलिएको क्याम्पसलाई प्राप्त सहयोग सही स्थानमा प्रयोग गरिने विश्वास दिलाउनुभयो । युके समाजले गाउँमा रु ४२ लाखका लागतमा सुविधासम्पन्न बास्केटबल मैदान र स्थानीय विद्यालयमा निजीस्तरका शिक्षकको तलब सुविधाको व्यवस्थासमेत गर्दै आएको छ ।
खिवाङ समाज युकेद्वारा क्याम्पसलाई रु आठ लाख सहयोग






