वीरगन्ज, भदौ १५ । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जना र बाराको कलैयामा १ जनाको मृत्यु भएको छ । लक्षमनवायमा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नेक्रममा प्रहरीको गोली लागि दिनानाथ साह र भोला प्रसादको मृत्यु भएको हो ।
यस्तै, वीरगन्जकै नगुवामा सोहम साह कलवारको मृत्यु भएको छ । यसअघि, मंगलबारै राधेमाई टोल नजिक प्रहरीले चलाएको गोली लागेर मनियारीका धर्मराज सिंहको मृत्यु भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज र आसपासको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणासँगै त्यस क्षेत्रमा अब सेना परिचालन हुनेछ । प्रहरी र प्रदर्शनकारीबीच बिहानैदेखि भएका झडपमा थुप्रै घाइते भएका छन् भने घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
बाराको कलैयामा मंगलबार भएको झडप प्रहरीको गोली लागि घाइते भएका कलैया–१० रंगपुरका हिफाजत मिंया अन्सारीको मृत्यु भएको छ । उनको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो ।
आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीचको झडपले बारा मंगलबार तनावग्रस्त बनेको छ । प्रहरी र प्रदर्शनकारीबीच बाराको विभिन्न ठाउँठाउमा झडप भइरहेको छ । झडपका क्रममा प्रहरीले रबरको गोली चलाउँदा कलैयामा केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेको कलैयास्थित अस्पतालमा उपचार भइरहको छ । प्रदर्शनकारीले परवानीपुरमा तेल बोकेको ना३ख ८७२१ नम्बरको ट्रकमा आगजनीसमेत गरेका छन् । प्रहरीले दर्जनौं राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ
बन्दकर्ताले बाराको राजमार्गको थुप्रै स्थानमा पोल, ढुंगा राखेर सडकमा अवरोध पुर्याएका छन् । विभिन्न स्थानमा टायर बालेर प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् । कलैयामा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । बाराको भरतचोकमा पनि आन्दोलनकारी लाठीसहित बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
वीरगन्जमा ४ र कलैयामा १ जनाको मृत्यु






