दोहा, ८ भदौ । कतारमा कार्यरत कलाकारद्वारा अभिनीत तथा एसबी फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘फर्मुला’ यसै साता दोहामा प्रारम्भिक प्रदर्शन गरिएको छ ।
कतार जस्तो ठाउँमा जुन जुलाईको प्रचण्ड गर्मीमा समेत कलाकारको मेहनत र लगाबले नै चलचित्र उत्कृष्ट बनाउने प्रयास गरिएको निर्माता नारायण ढुङ्गाना र निर्देशक शन्त बम्जनले बताउनुभयो ।
युवाको बढ्दो बेरोजगारीबाट उत्पन्न परिघटनासँगै जीवनमा आउने दुःखद क्षणमा सङ्घर्ष गर्दा नै सफलता पाइने सबल पक्षलाई चलचित्रमा उठान गरिएको छ । धनसम्पत्तिले मित्रतामा घात समेत हुन सक्ने र प्रेममा विश्वास भए अन्ततः मिलन हुने ‘फर्मुला’मा देख्न सकिन्छ ।
चलचित्रका नायकमा कुन्दन क्षेत्री, नायिकामा समीक्षा श्रेष्ठ, सहनायकमा ओबी रायमाझी, खलनायकमा नारायण ढुङ्गाना तथा अन्य कलाकारमा सन्देश पौडेल, दीपक खड्का, जानु थापा, मिलन राई, श्रीराम पौडेल, बबिन राई, बच्चु पौडेललगायत हुनुहुन्छ । एनआरएनए कतारका तत्कालीन महिला कार्यकारी सदस्य एवम् समाजसेवी स्व शोया दाहालसमेत विशेष भूमिकामा पर्दामा देखिँदा कतारबासी नेपालीको आँखामा आँसु भरिएको थियो ।
कतारमा फर्मुला






