पत्रकार गणेशमान तमुलाई स्वागत तथा सम्मान गरे

लण्डन, ७ भदौ । तमु प्ये ल्हु संघ युकेले नेपालदेखि निजी भ्रमणमा बेलायत आउनु भएका बरिष्ट तमु पत्रकार तथा सगरमाथा टेलिभिजनका समाचार सम्पादक गणेशमान तमुलाई एक समारोहबीच भव्य स्वागत तथा सम्मान गरेकोछ । गत शुक्रबार गोरखा प्यालेस रेष्टुरेण्ट, फार्नबरोमा सम्पन्न भएको उक्त स्वागत तथा सम्मान कार्यक्रम तमु प्ये ल्हु संघ युकेका अध्यक्ष सोम त्होर्जे तमुको सभापतित्वमा सचिव भेग च्हाक्ली तमुले सन्चालन गरेका थिए ।
मौलिक तमु परम्परा अनुसार क्रेगी ओढाई पुष्पगुच्छाले स्वागत सम्मान गरिएको उक्त कार्यक्रममा पत्रकार गणेशमान तमुले पत्रकारितामा आफुले धेरै संघर्ष र अविरल मेहनत गर्नु परेको कुरा बताए । परिचयको क्रममा पत्रकार तमुले पेशागत पत्रकारिता २०५२ सालदेखि शुरु गरेको बताउदै तमु प्ये ल्हु संघ केन्द्रिय कार्यलय फ.लि.ना क्होँईवोँ शक्तिघाट रानीपौवा पोखराबाट तमु कुलधर्म, संस्कार, सँस्कृति, परम्परा, भाषा भेषभुषा आदिको संरक्षण सम्बर्धन तथा प्रवर्धनको लागि एउटा कलाकारको रुपमा तमु श्रष्टा स्वर्गिय खुशीमान टु तमुको अध्यक्षतामा तमु युवा साँस्कृतिक संगठन स्थापना गरी साँस्कृतिक कार्यक्रम मार्फत तमुवान जागरणको सन्देश फैलाएको स्मण गराए भने वहाँ उक्त संगठनको सँस्थापक सचिव रहेको समेत जानकारी गराएका थिए ।
सम्मान कार्यक्रममा पत्रकार तमुलाई सञ्चारकर्मी र समुदायबीचको सम्बन्धको बारेमा विभिन्न जिज्ञासाहरु सोधिएका थिए । यस क्रममा पत्रकार तमुले तमु सञ्चारकर्मीहरुको उत्पादन, प्रोत्साहन, उत्थान र विकासको लागि पत्रकारिता सम्बन्धिका विभिन्न विधाहरुमा पुरस्कार व्यवस्था गर्न सकियो भने पनि तमु सञ्चारकर्मीहरु उत्पादन गर्नमा धेरै सहयोग पुग्ने बताएका थिए भने संघका अध्यक्ष सोम त्होर्जे तमुले तमु सञ्चारकर्मीहरुको प्रोत्साहनको लागि केही गर्न तमु प्ये ल्हु संघ युके सकरात्मक रहेको कुरा जनाएका थिए । पत्रकार तमुलाई जिज्ञासाहरु राख्ने क्रममा तमु विद्यार्थी संगठन, नेपालको वर्तमान राजनीतिक अवस्था र संविधान निर्माणको बारेमा पनि सोधिएका थिए भने पत्रकार गणेशमान तमुले आफुलाई अवगत भएसम्मको कुराहरु स्पष्ट पारेका थिए ।
सम्मान कार्यक्रममा संघका प्रमुख सल्लाहकार क्या. डेम बहादुर योज तमु, सल्लाहकार तथा नौथुम तमु समाजका अध्यक्ष खम बहादुर ल्होँ तमु, तमु प्ये ल्हु संघ नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष ओम क्रोम्छे तमु, सल्लाहकार क्या. टेक बहादुर प्हच्यु तमु, सल्लाहकार गणेश प्हच्यु तमु, द्धितिय उपाध्यक्ष हुम क्होल तमु, सहकोषाध्यक्ष अमर त्होर्जे तमु, प्रोपर्टी संयोजक कृष्णकाजी खक्यु तमु, क्ल्हेप्री खेगी हिरा म्होब्छे तमु र डा. चन्द्र बहादर प्ल्होने–लेम् तमु लगायत कार्यसमितिका सदस्यहरु, आमा समूहका प्रतिनिधीहरु र अन्य तमु महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको अन्तमा सत्कृत रात्रीभोजको व्यवस्था समेत गरिएको थियो ।