प्रेमको नाटक गरेर करोडबढी ठग्ने प्रेमिका जेलमा

वीरगन्ज, २२ साउन । झुठो मायाजालमा पारेर प्रेमीको एक करोडभन्दा बढी ठगी गर्ने प्रेमीका जेलको कठघरामा पुगेकी छन्। वीरगन्ज मुर्लीका २५ वर्षीय आकाश सिकारियालाई माया प्रेमको झुठो आश्वासनमा परेर एक करोड ६ लाख रुपैयाँ ठगी गरेकी युरिका ढकाललाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। मुख्य न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलाशले युरिकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई वीरगन्ज कारागार पठाइएको अदालतका तहसिलदार शम्भु बस्नेतले जानकारी दिए।
ठगीमा संलग्न युरिकाका बुबा हिक्मत ढकालसँग १३ लाख रुपैयाँ धरौटी माग गरिएको र युरिकाका भाइ मञ्जिल ढाकाललाई भने साधरण तारेखमा रिहा गरिएको पर्सा जिल्ला अदालतले जनाएको छ। आदलतले माग गरेबमोजिमको धारौटी रकम बुझाउन नसकेका कारण युरिकाका बुबा हिक्मतलाई पनि कारागार पठाइएको तहसिलदार बस्नेतले जानकारी दिए।
ठगीमा संलग्न युरिकाकी दिदी अरिका ढकाल महत भने फरार छिन्।पर्सा जिल्ला अदालतमा भएको बहसमा वादी नेपाल सरकारको तर्फबाट जिल्ला न्याधिवक्ता भुवनेश्वर पौडेल, जाहेरवाला आकाशका तर्फबाट अधिवक्ताहरू वीरेन्द्र यादव, विनय सिंह र मुकुन्द अधिकारीले बहस पैरवी गरेका थिए।
प्रतिवादीका तर्फबाट अधिवक्ताहरू प्रमोद साह, गाणेश बहादुर खत्री, मन्सुर सिद्धिक र राजन अधिकारीले बहस पैरवी गरेका थिए। यसअघि भएको सरकारी वकिल र अदालत दुवैसँगको बयानका क्रममा युरिकाले आफूले आकाशसँग पटकपटक गरेर ७९ लाख रुपैयाँ रकम लिएको स्वीकार गरेको सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै दुवै बयानमा युरिकाका बुबा हिक्मतले पनि आफूले आकाशसँग ६ लाख ९० हजार रुपैयाँ लिएको सकारेका थिए।आकाश सिकारिया पेट्रोलियम पदार्थका व्यवसायी रामजी सिकारियाका छोरा हुन्।
युरिका झापाको अर्जुनधारा गाविस २ स्थायी घर भई हाल ललितपुर उपमहानगरपालिका १४ निवासी हिक्मत ढाकालकी कान्छी छोरी हुन् । युरिकाले मायाप्रेमको झुठो जालमा पारेर आफूसँग एक करोड ६ लाख रुपैयाँ ठगी गरेको भन्दै आकाशले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए। आकाशको उजुरीको आधारमा पर्सा प्रहरीले युरिका, उनका बुबा हिक्मत र भाइ मञ्जिललाई असार २८ गते ललितपुरबाट पक्राउ गरी तीनैजना विरुद्ध ठगी मुद्दा दर्ता गरेको थियो।चार वर्षदेखिको प्रेम सम्बन्धलाई साकार पार्न आकाशले काठमाडौंमा रहेकी प्रेमिका युरिकासँग बिहे गर्न जेठ १० गते वीरगन्ज बोलाएका थिए।
तर काठमाडौंबाट वीरगन्ज आएकी युरिकाले आफू अर्कैकी श्रीमती भएको र बिहे नगर्ने बताएपछि आकाशले आफू ठगिएको थाहा पाएका थिए।अविवाहित भनिएकी पे्रमिका अर्कैकी श्रीमती भएको थाहा पाएपछि आकाशले युरिकाविरुद्ध ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए। आकाशले आफूसँग पटकपटक गरेर युरिका, उनका बुबा र भाइले एक करोड ६ लाख रुपैयाँ ठगेको आरोप लगाएका छन्। ७९ लाख रुपैयाँ बैंक र आईएमईमर्फत युरिका र उनको दिदीको खातामा तथा बाँकी २७ लाख रुपैयाँ नगद नै दिएको आकाशको भनाइ छ।
उजुरीसँगै आकाशले युरिकाको बैंक खातामा रकम पठाएको बैंकको स्टेटमेन्ट, युरिकाले बनाएका दुईवटा नागरिकतालगायतका प्रमाण पनि पेस गरेका थिए। युरिकाको सात वर्ष पहिले काठमाडौं महाबौद्ध निवासी भूपेन्द्रराज भण्डारीका छोरा लोकेन्द्र राजभण्डारीसँग बिहे भइसकेको छ। उनको ६ वर्षका छोरा पनि छन्। छोराको नाम आर्यन राजभण्डारी हो।