कोषाध्यक्ष प्रत्यासी श्रेष्ठको मुख्य एजेण्डा ‘आर्थिक पारदर्शिता’

लण्डन ।

11815759_10153528638788944_859068301_n[2] एनआरएन यूकेको कोषाध्यक्ष पदका उम्मेदवार दिपक श्रेष्ठले संस्थामा आर्थिक पारदर्शिता स्थापित गर्नु नै आफनो मुख्य प्राथमिकता रहेको बताएका छन । कैयौं आर्थिक विवाद तथा आशंकाहरुका कारण संस्थाप्रतिको घट्दै गएको जनविश्वासलाई फेरि कायम गराउनु नै आफनो लक्ष्य भएको उनले बताए ।

लण्डननेपालसंगको विशेष कुराकानीमा श्रेष्ठले भने, एनआरएन यूकेभित्रको विवादको केन्द्रमा आर्थिक मुद्धा पनि छ । म निर्वाचित भए भने म यहि विवादको टुंगो लगाएर संस्थाभित्रको हाम्रो एकतालाई थप मजबुत बनाउन चाहन्छु । एनआरएन जस्तो गरिमामय संस्थाप्रति पनि अहिले सर्वसाधारणहरुमा शंका, अविश्वास उत्पन्न हुनु दुर्भाग्यको कुरा हो, श्रेष्ठले भन्छन, मैले कोषाध्यक्षको भुमिकाबाट तीनै आशंका र अविश्वास निर्मुल गर्न चाहन्छु ।

बेलायतको नेपाली समुदायमा एक सफल युवा व्यवसायीका रुपमा चिनिने श्रेष्ठले सामाजिक कामहरुमा सधै सक्रिय एक इमान्दार र मिलनसार अभियन्ताको परिचय समेत बनाएका छन । एनआरएन यूकेको वर्तमान कार्यसमितिमा उनी सदस्य छन । कपिलवस्तु समाज यूकेका अध्यक्ष समेत रहेका श्रेष्ठ सामाजिक कामहरुमा सधै अग्रसर रहने गरेका छन ।

भुकम्प पीडितको सहयोगार्थ उनकै संयोजनमा समाजले दशौं लाखको राहत नेपाल पठाएको थियो । नेपाल फोरममा सहकोषाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली कलाकार सोसाइटीका उपाध्यक्ष पनि हुन ।

श्रेष्ठले बेलायतमा रेष्टुरेन्ट, पब, क्यास एण्ड क्यारी लगायतका व्यवसाय सञ्चालन गरेका छन ।