फेरि आमरण अनशन बस्ने डा. केसीको चेतावनी

govinda kc

काठमाडौँ, १५ साउन – प्रा । डा । गोविन्द केसीले सरकारले चार महिनाअघि गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

पछिल्लो १२ दिने पाँचौं आमरण अनशन लगायत हरेकपटक सरकारले आन्दोलनको माग पूरा गर्ने लिखित सम्झौता गरे पनि कार्यान्वयन हुन सकेको छैन। डा । केसीले साउन २२ सम्म माग पूरा नभए चिकित्सा शिक्षा र सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्न छैटौंपटक आन्दोलन गर्न बाध्य हुने बताएका हुन्। चार महिनाअघि पछिल्लो आन्दोलनमा सरकारले गरेको सम्झौताका महत्त्वपूर्ण बुँदाहरू अझै कार्यान्वयन गरेको छैन, प्रा ।डा ।केसीले भने, हामीले सम्बद्घ निकायमा सम्झौता कार्यान्वयनको अनुरोध गर्दै आए पनि कुनै सुनवाइ नभएकाले सरकारलाई पुनः आन्दोलनको चेतावनी दिनुपरेको छ।

पछिल्लो आन्दोलनमा सरकारसँग माथेमा कार्यदलले बुझाउने प्रतिवेदनअनुसार कानुन बनाएर लागू गर्ने सम्झौता भएको थियो। माथेमा प्रतिवेदन कार्यान्वयन त परै जाओस्, सार्वजनिक समेत गरेन, डा केसीले भने, यो प्रतिवेदन मात्र नभई यसपटक हामीले गरेका पाँचवटै माग हाम्रो बटम लाइन हो।

आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी संख्या र शुल्क जस्ता तत्काल कार्यान्वयन गर्न सकिने बुँदा लागू गर्ने व्यवस्था गर्न मेडिकल काउन्सिल र विश्वविद्यालयहरूलाई तुरुन्त पत्राचार गरिनुपर्ने उनले जनाएका छन्। विगतमा भएका अन्य सहमतिका बुँदाहरू सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने जनाउँदै डा । केसीले चिकित्सा विश्वविद्यालय विधेयक तुरन्त संसद्मा पेस गर्न समेत माग गरेका छन्।